गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता देवराज चालिसेले आफूहरू केन्द्रीय कार्यालयमा कब्जा गर्न हुल हुज्जत गर्न नजाने बताएका छन्। बिहीबार पहिलो केन्द्रीय समिति बैठकपछि पत्रकारको प्रश्नको जवाफ दिँदै चालिसेले बताएका हुन्।
चालिसेलाई पत्रकारले ‘तपाईँहरू पार्टी कार्यालय जानुहुन्न?’ भनेर प्रश्न सोधेका थिए। जसको जवाफमा उनले भने, ‘कार्यालय जान्छौँ हामी। अहिले अद्यावधिक गर्दैछौँ। कानुनी राज हो, वैधानिक, संवैधानिक, राजनीतिक सबै कुराहरू निर्णय हुँदै जान्छन्।’
त्यसपछि पत्रकारले ‘तपाईँहरूले आधिकारिकता नपाइए छुट्टै पार्टी कार्यालय खोल्नुहुन्छ?’ भनेर पूरक प्रश्न सोधेका थिए।
‘आधिकारिकता पाइँदैन भन्ने कुरै होइन। हुल हुज्जत गर्ने कुरा पनि भएन। सबै कुरा वैधानिक ढंगले जान्छ। स्वाभाविक हुने कुरा हो,’ जसको जवाफमा चालिसेले भने।
पहिलो केन्द्रीय समिति बैठक ललितपुरको कुपण्डोलस्थित एक ब्यांक्वेटमा बसेको थियो।
प्रकाशित: १ माघ २०८२ १४:१२ बिहीबार





