नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोलीले निर्वाचन आयोग पुगेर पार्टीको विवरण बुझाएको छ।
बिहीबार कुपण्डोलमा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न भएलगत्तै सभापति थापा र उपसभापति शर्मासहितका पदाधिकारीहरू दलको विवरण अद्यावधिक गराउन आयोग पुगेका हुन्।
सहमहामन्त्री डिला संग्रौलाका अनुसार केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम नयाँ कार्यसमितिको नामावली र विशेष महाधिवेशनको निर्णय आयोगमा दर्ता गराइएको छ।
आयोग जाने टोलीमा सभापति थापा र उपसभापति शर्मासहित अर्का उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतका पदाधिकारी सहभागी थिए।
टोलीले विशेष महाधिवेशनको हलले गरेका निर्णय र महाधिवेशन प्रक्रियाका सम्पूर्ण कागजातहरू आयोग समक्ष पेस गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार राति सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।
नवनिर्वाचित कार्यसमिति नै कांग्रेसको वैध संरचना भएको दाबी गर्दै यो समूहले आधिकारिकताको माग गरेको छ।
उता संस्थापन पक्षले भने कथित विशेष महाधिवेशन आधिकारिक नभएको भन्दै आयोगलाई पत्र लेखिसकेको छ।
बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको देउवा पक्षीय बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको थियो।
उक्त कारबाहीको जानकारी पनि देउवा पक्षले आयोगमा गराइसकेको छ।
यता गगन पक्षले भने विशेष महाधिवेशनको प्रक्रिया सुरु गर्नुअघि नै आयोगलाई जानकारी गराएको दाबी गरेको छ। दुवै पक्षले आ-आफ्नो दाबी पेस गरेपछि नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद अब निर्वाचन आयोगको निर्णयमा निर्भर हुने देखिएको छ।
प्रकाशित: १ माघ २०८२ १५:११ बिहीबार





