२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सहमति तोडिए सरकार सहकार्यमा दरार आउँछ: शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार नेकपा (एमाले) सँग भएका सहमतिहरूबाट सरकार पछि हटे सहकार्यमा दरार उत्पन्न हुनसक्ने चेतावनी दिएका छन्।

उनले ‘कुलिङ पिरियड’ र भूमि विधेयक जस्ता विषयमा देखिएको विवादलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर हल गर्नुपर्नेमा जोड दिए।

बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राज्य व्यवस्था समितिमा सर्वसम्मतिले पारित भएको ‘कुलिङ पिरियड’ को प्रावधानलाई राष्ट्रिय सभामा फरक ढंगले संशोधन गर्न खोजिएको भन्दै आपत्ति जनाए।

“राज्य व्यवस्था समितिबाट हामीले सर्वसम्मतिले अपिल गरेका छौँ, यसलाई राष्ट्रिय सभाबाट सच्याइनुपर्छ,” उनले भने, “सँगै बस्दा सबै सहमत हुने, तर राष्ट्रिय सभामा फरक रूपमा संशोधन प्रस्ताव आएर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुई दलबीचको समझदारीमा यसले दरार उत्पन्न गर्छ।”

उनले भूमि विधेयकलाई पनि सरकारले हतारमा पारित गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘भूमि विधेयक पारित हुनुपर्छ, तर हतारोमा ल्याएर लटरपटर गरेर हुँदैन,’ शर्माले भने, ‘गहन छलफल, संवाद र समितिमा हाम्रा विमतिहरूलाई घटाएर अघि बढ्नुपर्छ।’

महामन्त्री शर्माले फरक पृष्ठभूमिबाट बनेको गठबन्धन सरकार भएकाले प्रतिस्पर्धा, सहकार्य र फरक मतबीचबाट साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए।

नेपाली कांग्रेसले सरकारले ल्याउने सबै कुरालाई ‘मजाले पचाउने’ काम नगर्ने स्पष्ट पार्दै उनले भने, “नेपाली कांग्रेस छलफल गर्छ, बहस गर्छ, विमति राख्छ र फेरि सँगसँगै सहमति र सहकार्य गरेर जान्छ।”

उनले ‘कुलिङ पिरियड’ र भूमि विधेयकमा देखिएको असमझदारी हल गर्न प्रधानमन्त्रीलाई सार्वजनिक रूपमै आग्रह गरे। “यो सरकारलाई सफल बनाउनु छ, तर सफल बनाउने शर्त भनेको जे आउँछ, त्यसलाई चुप लागेर पचाउने होइन,” उनले भने।

प्रकाशित: ६ श्रावण २०८२ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App