२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

गोपालमानको श्रद्धाञ्जलीमा पनि सानेपा गएनन् कांग्रेस इतर पक्षका नेता

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। केही समयदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो। श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टिअघि बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।

कांग्रेस सभापति गगनकुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए। श्रेष्ठलाई अन्तिम बिदाइ गर्न कांग्रेस नेता तथा कार्यकर्ता, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि सानेपा पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरू सानेपा पुगेका थिए।

तर कांग्रेसकै केही नेताहरू भने कांग्रेस कार्यालयमा देखिएनन्। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएसँगै डा. शेखर कोइराला, पूर्णबहादुर खडका, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छेदार, कृष्णप्रसाद सिटौलालगायतका सानेपा जान छाडेका थिए।

दुई समूहमा विभाजित कांग्रेस नेताहरूलाई श्रेष्ठको निधनले जोड्ने धेरैको अनुमान थियो। उपचारका क्रममा मंगलबार ललितपुरको जाउलाखेलस्थित होलिस अस्पतालमा निधन भएको श्रेष्ठको पार्थिव शरीर बिहान ९ देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो।

पार्टी उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठ २०४८ र २०५६ को प्रतिनिधिसभा चुनावमा निर्वाचित भए। संविधानसभा निर्वाचन २०६४ मा पनि स्याङ्जा–१ बाटै निर्वाचित श्रेष्ठ २०७४ मा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए।

मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरेका श्रेष्ठ २०५९ मा कांग्रेस विभाजन भएर गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

प्रकाशित: १४ श्रावण २०८३ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App