प्रतिनिधिसभाका सांसदहरूले श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मताधिकार, सीमावर्ती क्षेत्रका समस्या र विपद् व्यवस्थापनलगायत जनसरोकारका विविध समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको विशेष समय मा बोल्दै सांसदहरूले सुशासन, आर्थिक अनियमितता र राज्यका विभिन्न निकायमा रहेका विकृति अन्त्यका लागि तत्काल कदम चाल्न सरकारलाई दबाब दिएका हुन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद प्रभा कार्कीले उद्योग, होटल तथा कर्पोरेट क्षेत्रका श्रमिकहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै श्रम बजारलाई व्यवस्थित बनाउन माग गरिन्।
सोही दलकी प्रमिला कुलुजुले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था गर्न ध्यानाकर्षण गराइन्। नेपाली कांग्रेसका सांसद अभिशेषकप्रताप शाहले अमेरिकाको सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास बन्द गर्ने निर्णय फिर्ता लिन माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विद्युतीय सवारी साधनको आयातमा कर छलीको आशङ्का बढेकाले छानबिन गरी राजस्व सङ्कलन गर्न सरकारलाई सुझाव दिइन्।
रास्वपाका टेकबहादुर शाक्यले पर्साको ठोरी, जानकीटोला र भिष्वा ‘छोटी भन्सार’ तत्काल सञ्चालनमा ल्याउन माग गरे भने सोही दलकी सिर्जना श्रेष्ठले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारसम्बन्धी फाइलमाथि तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरिन्।
रास्वपाकै बुद्धिप्रसाद पन्तले वीरगञ्जका तारे होटलमा सञ्चालित क्यासिनोमा प्रहरी र प्रशासनको मिलेमतोमा नेपाली नागरिकलाई प्रवेश गराइने गरेको गुनासोमाथि छानबिन माग गरे।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सशस्त्र प्रहरी जवान र हबल्दारलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था गर्न माग गरे।
रास्वपाका बदनकुमार भण्डारीले अन्तरजातीय विवाहका कारण २०७३ असार २९ गते काभ्रेपलाञ्चोकको पाँचखालका अजित मिजार मृत फेला परेको घटनाको छानबिन गरी पीडित परिवारलाई राहत दिन माग गरे।
सोही दलका जगदीश खरेलले जनप्रतिनिधिलाई नटेर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरे भने सृष्टी भट्टराईले राष्ट्रिय राजमार्गमा ढाट राखेर भइरहेको अवैध असुली रोक्न ध्यानाकर्षण गराइन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँका बाढीपहिरो प्रभावितलाई तत्काल राहत दिन माग गरे।
नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले मौलिक हक कार्यान्वयनमा सरकारलाई गम्भीर बन्न सुझाव दिए। रास्वपाकी करिष्मा कठरियाले सिकलसेल तथा अनुवांशिक रक्तविकारका बिरामीको संवैधानिक स्वास्थ्य हक कार्यान्वयन गर्न र आनन्दबहादुर चन्दले किसानलाई मल, बीउ र माटो परीक्षणसम्बन्धी तालिम दिनुपर्नेमा जोड दिए।
बोधनारायण श्रेष्ठले रासायनिक मल वितरणको समस्या सुल्झाउन माग गरे। यस्तै, कांग्रेस सांसद कालीबहादुर सहकारीले कर्णाली क्षेत्रको समग्र विकासका लागि विशेष योजना ल्याउन सुझाव दिए भने रास्वपाका खगेन्द्र कर्णले सामुदायिक शिक्षामा लगानी बढाउन आग्रह गरे।
बैठकको अन्त्यमा रास्वपाकै सांसद सूर्यबहादुर तामाङले भने वर्तमान सरकारले आफ्नो पहिलो १०० दिनमा जनअपेक्षा पूरा गर्न सफल भएको दाबी गरे।
प्रकाशित: २२ असार २०८३ १६:३१ सोमबार





