१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनावको मुखैमा नेकपाका चार नेता कांग्रेसमा प्रवेश

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा चार जना स्थानीय नेता नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–१ का उम्मेदवार उदयशमशेर राणाले नेकपाको सक्रिय राजनीति गरेका चार नेतालाई पार्टी प्रवेश गराएका हुन् ।  

कांग्रेस प्रवेश गर्नेहरूमा नेकपा पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ छन् ।  

उनीहरूलाई पार्टी प्रवेश गराउँदै राणाले नल्लुसहित कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको बताए । उनले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसले आगामी निर्वाचनको अंक गणितमा समेत दूरगामी प्रभाव पार्ने जिकिर गरे ।  

पार्टी प्रवेशपछि बोल्दै नेताहरूले वामपन्थी दलहरूमा बढ्दो साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कम हुँदै गएकाले आफूहरूले विकल्प रोजेको बताए । उनीहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक कार्यशैली, विकासमुखी दृष्टिकोण र जनतासँग प्रत्यक्ष जोडिने संस्कृतिका कारण आफूहरू आकर्षित भएको उल्लेख गरे ।  

सो स्थानमा एमाले र माओवादीका पूर्व वडा अध्यक्षस्तरका नेताहरूले सामूहिक रूपमा पार्टी छाड्नुले कोन्ज्योसोममा वामपन्थी आधार खस्किँदै गएको संकेत गर्दछ। यसले आगामी दिनमा कांग्रेसको साङ्गठनिक शक्तिलाई थप मजबुत बनाउने र शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउने निश्चित देखिन्छ ।  

कोन्ज्योसोम क्षेत्रमा राजनीतिक ध्रुवीकरण पुनः परिभाषित भइरहेका बेला कांग्रेसले पाएको यो पछिल्लो थप बल रणनीतिक रूपमै लाभदायी मानिएको कांग्रेस नेताहरू बताउँछन् ।

प्रकाशित: १८ माघ २०८२ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App