नेकपा (एमाले) परित्याग गरी मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरिसहित विभिन्न जिल्लाका चार दर्जनभन्दा बढी नेता तथा जनप्रतिनिधिहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष समारोहका बीच नवप्रवेशीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश गर्नेहरूको नेतृत्व २०७४ सालको प्रदेशसभा निर्वाचनमा पर्साबाट निर्वाचित तत्कालीन सांसद प्रल्हाद गिरिले गरेका थिए।
उनीसँगै डा. अन्जु यादव, पर्साको विन्ध्यवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, पूर्व वडाध्यक्ष हनिफ अन्सारी तथा सांसद प्रतिनिधि राजकुमार गुप्ता नेकपामा प्रवेश गरेका छन्।
त्यस्तै, विन्ध्यवासिनीका पूर्व वडाध्यक्ष संजय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडाध्यक्षका प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडाध्यक्ष रामरेखा सिंह, वडा नं. ७ का वडाध्यक्ष विरेन्द्र यादव, राधा बैठा र मिना देवी बैठा पनि पार्टी प्रवेश गरेका छन्।
पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ र ओखलढुंगाका एमाले नेता सिताराम गुरुङल गायतले पनि एमाले परित्याग गरी नेकपा रोजे।
समारोहलाई सम्बोधन गर्दै पार्टी संयोजक प्रचण्डले देश संकटमा परेको अवस्थामा राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।
नवप्रवेशीलाई बधाई दिँदै उनले भने, ‘तपाईंहरूले उचित समयमा उचित निर्णय गर्नुभएको छ। यो प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको छ। अब समाजवादी क्रान्तिको पक्षमा जनतासँग मिलेर अघि बढ्नुपर्छ।’
यस्तै, सह–संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीमा सबैलाई सम्मानजनक स्थान मिल्ने बताए। उनले पद तथा अवसरका लागि अन्यत्र जस्तो दबाब दिनु नपर्ने र कामको मूल्याङ्कन हुने वातावरण पार्टीमा रहेको धारणा राखे।
प्रकाशित: ७ पुस २०८२ १६:०० सोमबार





