नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन्।
संविधान दिवस २०८३का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए।
'राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ। संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ', संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
उनले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए।
प्रकाशित: ३ आश्विन २०८३ ०६:१६ शनिबार





-600x400.jpg)