३ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

एसियाली खेलकुदको उद्घाटन समाराेह: चन्द्रबहादुर र मानमतीले नेपालको झन्डा बोक्ने

पाँच वर्षअघि मात्र ओलम्पिक आयोजना गरेको जापानका लागि अहिले क्षेत्रीय आयोजना आलोचनाको घेरमा छ। जुन आलोचना नागोया/आइची सहरमा शनिबार तय उद्घाटन समारोहको सँघारमा भएको हो।

एसियाली खेलकुदको २०औं संस्करण शनिबार नागोया सहरमा भव्यताका साथ सुरु हुने तयारीमा छ। तर, तेस्रोपल्ट एसियन गेम्सको आयोजना गरिरहँदा जापानले आलोचना सामना गरिरहेको छ। तथापि २०औं एसियाली खेलकुद आइची/नागोया २०२६’ को उद्घाटन समारोह विशेष र भव्य बनाउने तयारी आयोजक छ। नागोयास्थित मिजुहो पार्क एथलेटिक्स रंगशालामा हुँदै छ। मार्च पास्टका क्रममा नेपालको झन्डा बक्सर चन्द्रबहादुर थापा र महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले बोक्नेछन्। मानमती गत एसियाली खेलकुदको कांस्य पदक विजेता हुन् भने चन्द्रबहादुरलाई यसपल्ट पदकको आशा गरिएको खेलाडीको रूपमा हेरिएको छ।

उक्त समारोहमा जापान एयर सेल्फ डिफेन्स फोर्सको चर्चित ‘ब्लु इम्पल्स’ एरोबेटिक टोलीले आकाशीय प्रदर्शन गर्नेछ। त्यससँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुति हुनेछ। एसिया क्षेत्रको महाकुम्भ मेलामा १७ हजारभन्दा बढी खेलाडी तथा पदाधिकारी प्रत्यक्ष सदस्य हुन्। उद्घाटन समारोह साँझ ६ बजे सुरु हुनेछ। समारोहमा सांगीतिक प्रस्तुति पनि हुँदै छ। ‘हार्मोनिक हार्ट बिट’ अर्थात् ‘सामञ्जस्यपूर्ण मुटुको धड्कन’ आकर्षण बन्नेछ। यसको माध्यमबाट एसियाका खेलाडी र दर्शकले खेलप्रतिको एउटै लय र जोस साझा गरेको सन्देश दिन खोजिएको छ।

मुटुलाई विश्वव्यापी प्रतीकका रूपमा देखाइने तयारी छ। जापानले सहभागी ११ हजारभन्दा बढी खेलाडीले आफ्नो देश र राष्ट्रिय झण्डाप्रति उही उत्साह, समर्पण र प्रतिबद्धताका साथ प्रतिस्पर्धा गर्ने अपेक्षा गरेको छ। सहभागी खेलाडीको संख्या पेरिस ओलम्पिकमा सहभागी खेलाडीभन्दा केही बढी हुने जनाइएको छ। सन् १९९४ मा हिरोसिमामा एसियाली खेलकुद आयोजना गरेपछि जापानले तेस्रो पटक क्षेत्रीय खेलकुदको आतिथ्यता गर्न लागेको हो।

चार वर्षको अन्तरालमा हुने एसियाली खेलकुदमा नेपालले ४२ खेलमा १३५ खेलाडीको सहभागिता गराउँदै छ। यीमध्ये नेपालको महिला भलिबलको पदकको सम्भावना समाप्त भइसकेको छ। उद्घाटन समारोहको मार्चपासमा एसियाली खेलकुदकी ऐतिहासिक पदक विजेता एरिका गुरुङसहित कराते खेलाडी सहभागी नहुने सम्भावना धेरै छ। उद्घाटनलगत्तै अर्को दिन करातेको प्रतिस्पर्धा भएकाले उनीहरूको सहभागिता हुने सम्भावना कम छ। प्रतियोगिता अक्टोबर ४ सम्म सञ्चालन हुनेछ।

व्यापक आलोचनामा आयोजक

खेलाडी १४ घण्टाभन्दा बढी समयसम्म खाना र न्यूनतम सुविधासमेत नपाई आवासका लागि कुर्नुपरेको घटना बाहिरिएका छन्। नागोया पुगेका खेलाडीलाई राख्न प्रयोग गरिएको क्रुज पानीजहाजमा कोठा समयमा उपलब्ध हुन सकेनन्। ढिलाइ भएपछि उनीहरू लामो समयसम्म अलपत्र परे। स्थानीय आयोजकसँग समन्वय गर्दा पनि तत्काल समस्या समाधान हुन नसकेको खेलाडीहरूले बताएका छन्। केही खेलाडीले समेत आफूलाई तोकिएको कोठामा अन्यसँग मिलेर बस्नुपरेको छ।

आयोजकले सहभागी खेलाडीको संख्या व्यवस्थापन नगर्दा आवासमा समस्या देखिएको छ। ‘आयोजकले पानी मात्र उपलब्ध गराएको थियो। अहिलेसम्म हामीले घरबाट ल्याएको खानामै गुजारा गरिरहेका छौं। खाना नपाए पनि केही समय व्यवस्थापन गर्न सकिन्छ, तर आराम आवश्यक छ। हाम्रो प्रतिस्पर्धा सेप्टेम्बर १९ बाट सुरु हुँदै छ,’ भारतका एक खेलाडीले भने। होटल तथा अन्य स्थानमा टोलीहरूलाई विभाजित गरेर राख्नुपर्ने भएपछि खेलाडीहरू एउटै स्थानमा बस्न नपाउने भएका छन्। अन्य ठूला अन्तर्राष्ट्रिय खेलकुदमा जस्तो यसपटक छुट्टै ‘गेम्स भिलेज’ निर्माण गरिएको छैन। लागत घटाउने उद्देश्यले आयोजकले क्रुज पानीजहाज, कन्टेनर शैलीका अस्थायी आवास र होटललाई आवासको विकल्प बनाएको हो। भारत, भियतनाम, चीन, दक्षिण कोरिया र थाइल्यान्डका खेलाडीले आवासको समस्या सामना गर्नुपरेको जनाएका छन्।

आवासबारे दक्षिण कोरियाली टोलीले पनि असन्तुष्टि व्यक्त गरिरहेका छन्। दुई मिटरभन्दा अग्ला खेलाडीले बेडमा खुट्टा तन्काएर सुत्नसमेत नसक्ने अवस्था छ। उनले यस्तो व्यवस्थालाई अनुचित भएको बताएका छन्। दक्षिण कोरियाका एक बास्केटबल खेलाडीले आफ्नो अस्थायी आवासको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

भिडियोमा चुहिएको पाइप र पानीले भिजेको भुइँ देखाइएको थियो। उनले भिडियोसँगै ‘कृपया हामीलाई सहयोग गर्नुहोस्’ भन्ने सन्देश लेखेका थिए। सुरुमा १५ हजार खेलाडी तथा पदाधिकारी आउने अनुमान थियो। पछि नयाँ खेलहरू थपिएपछि सहभागीको संख्या बढेर १७ हजार पुगेको हो। आयोजकले लागि आवास सुनिश्चित गरिएको दाबी गरे पनि व्यवहारमा आवास व्यवस्थापनमा समस्या देखिएको छ।

जापानका उपप्रमुख सेफ द मिसन हिसासी मिजुतोरीले प्रक्रियामा समस्या आउँदा केही खेलाडीले घण्टौं कुर्नुपरेको बताए। कतिपय अवस्थामा प्रशिक्षक, टोली पदाधिकारी र खेलाडीलाई एउटै कोठामा राखिएको छ। संख्याको हिसाब मिलाउन खोज्दा पुरुष र महिला खेलाडी एउटै आवासमा पर्ने, प्रशिक्षक र खेलाडी एउटै कोठामा बस्नुपर्ने तथा धेरै चिकित्सकीय सामग्री बोकेर हिँड्ने प्रशिक्षक वा स्वास्थ्यकर्मीलाई अपर्याप्त ठाउँमा राख्नुपर्ने अवस्था आएको उनले स्वीकार गरे। आवास समस्या अनुमान गर्दै वैकल्पिक रूपमा नागोयाका होटलमा कोठा सुरक्षित गरेको जापानी ओलम्पिक कमिटीको दाबी छ।

समस्या तत्काल समाधान गर्न नसकिने अवस्थामा ती होटललाई वैकल्पिक आवासका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। अस्थायी कन्टेनर आवासलाई लिएर पनि खेलाडी तथा टोलीका पदाधिकारीबाट आलोचना भइरहेको छ। करिब दुई हजार सहभागीलाई राख्न बनाइएका यस्ता संरचना विपद्का बेला आपत्कालीन आश्रयका रूपमा पुनः प्रयोग गर्ने उद्देश्यले तयार पारिएको आयोजकले जनाएको छ।

गत साता नागोयामा परेको भारी वर्षाका कारण कन्टेनर आवासमा बसेका खेलाडीलाई केही समयका लागि बाहिर निकाल्नुपरेको थियो। केही खेलस्थलमा समेत पानी चुहिएको जानकारी सार्वजनिक भएको छ। आवास व्यवस्थापनका प्रमुख युता मात्सुओले विभिन्न देशका खेलाडी प्रतिनिधिमण्डलले व्यक्त गरेको असन्तुष्टि र चिन्ताबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको बताएका छन्।

खेलाडीको आवास वातावरण सुधार गर्न ठोस कदम चालिरहेको उनको भनाइ छ। परम्परागत रूपमा एसियाली खेलकुद तथा ओलम्पिकमा खेलाडीका लागि छुट्टै ‘गेम्स भिलेज’ निर्माण गरिन्छ। तर, नागोया एसियाडमा त्यसको सट्टा क्रुज पानीजहाज, कन्टेनर शैलीका अस्थायी आवास र होटल प्रयोग गरिएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का महानिर्देशक हुसेन अलमुसल्लमले छुट्टै भिलेज निर्माण गर्नु उपयुक्त हुने भए पनि आयोजकको अवस्था र प्रतियोगितापछि पूर्वाधारको उपयोगलाई समेत ध्यान दिनुपर्ने भएकाले वैकल्पिक व्यवस्था गरिएको बताएका छन्।

आयोजकले प्रतियोगिता सकिएपछि प्रयोगविहीन हुने ठूलो संरचना निर्माण गर्न नचाहेको जनाएको छ। त्यसैले नागोयामा रहेका होटल तथा अन्य आवास पूर्वाधारसँगै अस्थायी कन्टेनर र क्रुज पानीजहाजलाई विकल्प बनाइएको हो। 

प्रकाशित: ३ आश्विन २०८३ ०६:२३ शनिबार