पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति सद्भाव व्यक्त गर्दै सहकारी प्रकरणलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएकोमा चिन्ता व्यक्त गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँग मंगलबार बिहान भएको भेटमा भण्डारीले यस्तो धारणा राखेकी हुन्।
भण्डारीको निजी निवासमा भएको करिब डेढ घण्टा लामो संवादमा वर्तमान राजनीतिक परिस्थिति र समाधानका उपायबारे छलफल केन्द्रित रहेको प्रवक्ता झाले जानकारी दिए।
‘वर्तमान असाधारण राजनीतिक अवस्थाबारे उहाँको गहिरो सरोकार र यसको समाधानका लागि आवश्यक पहलबारे छलफल भयो,’ प्रवक्ता झाले भेटपछि भने, ‘विशेषगरी सहकारीको विषयलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो र रविजीप्रति सद्भाव छ भन्नुभयो।’
भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक भन्दै उनीहरूलाई सघाउन आफू अभिभावकको भूमिका निर्वाह गर्न तयार रहेको बताएकी थिइन्।
उनले भविष्यमा पनि राजनीतिक संवाद र भेटघाटलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको झाले जानकारी दिए।
प्रकाशित: १० भाद्र २०८२ १५:०२ मंगलबार





