प्रतिनिधिसभा सदस्य सुम्निमा उदासले नेपालको परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित र परिणाममुखी हुनुपर्ने बताएकी छन्।
‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उदासले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नेपालको परराष्ट्र नीति अनुकूल बनाउन संस्थागत क्षमता विकास गर्नुपर्ने बताइन्। उनले नेपालको परराष्ट्र नीतिलाई समयानुकूल र परिणाममुखी बनाउन संस्थागत क्षमता निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताइन्।
‘परराष्ट्र नीति कुनै दलको, कुनै सरकारको वा कुनै व्यक्तिको स्वार्थको विषय होइन, यो सम्पूर्ण नेपाली जनताको सामूहिक हितको नीति हो,’ उनले भनिन्।
सरकार परिवर्तनसँगै राजनीतिक नेतृत्व र प्राथमिकता परिवर्तन हुन सक्ने भए पनि नेपालको राष्ट्रिय हित परिवर्तन हुन नहुने उनको भनाइ छ। उनले नेपालले कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय गर्नुअघि कम्तीमा तीनवटा प्रश्नको उत्तर खोज्नुपर्ने बताइन्। पहिलो, उक्त निर्णयले नेपालको सार्वभौमिकता र रणनीतिक स्वायत्ततालाई कति बलियो बनाउँछ भन्ने मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, दोस्रो प्रश्नका रूपमा त्यसले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसरमा कति योगदान पुर्याउँछ भन्ने हेर्नुपर्ने उनले बताइन्। तेस्रो, त्यसबाट भावी पुस्तालाई कस्तो सुरक्षित, समृद्ध र समान नेपाल हस्तान्तरण गर्न सकिन्छ भन्ने विषयमा विचार गर्नुपर्ने उनको भनाइ छ। ‘यी तीन प्रश्नको उत्तर नै हाम्रो राष्ट्रिय हितको मापदण्ड बन्न सक्छ,’ उदासले भनिन्।
उनले नेपालको परराष्ट्र नीति तत्कालीन राजनीतिक स्वार्थभन्दा माथि राख्दै दीर्घकालीन राष्ट्रिय हित, नागरिकको समृद्धि र मुलुकको रणनीतिक स्वायत्ततालाई केन्द्रमा राखेर अघि बढाउनुपर्नेमा जोड दिइन्।
प्रकाशित: २८ श्रावण २०८३ १५:४८ बिहीबार





-600x400.jpg)