२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ, नेपाल–भारत सहकार्य नयाँ चरणमा

फाइल तस्बिर

परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न भारतको दुई दिने भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन विभिन्न क्षेत्रमा महत्वपूर्ण छलफल भएको बताएका छन्।

राष्ट्रिय सभामा बिहीबार सम्बोधन गर्दै मन्त्री खनालले व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सुरक्षा, सीमा व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय वार्ता भएको बताए। भ्रमणका क्रममा दुई देशबीच व्यक्ति–व्यक्ति डिजिटल भुक्तानी सेवा सञ्चालन, भारतको सहयोगमा पुनर्निर्मित स्वास्थ्य तथा सांस्कृतिक संरचनाहरू हस्तान्तरण तथा भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्ने तीन संयुक्त घोषणा भएका छन्।

उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र रणनीतिक सहकार्यका विषयमा विशेष छलफल भएको जानकारी दिए। साथै, नेपाल–भारत सीमासम्बन्धी बाँकी रहेका विवादहरू कूटनीतिक वार्ता र आपसी समझदारीमार्फत समाधान गर्न दुवै देश प्रतिबद्ध रहेको बताए।

मन्त्री खनालले भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रकाशित: २८ जेष्ठ २०८३ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App