नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए। 'भौतिक क्षति ठूलै भएको छ। अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ', उनले भने।
संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको बताए। बाढी आएलगत्तै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको र त्यसपछि बैठक बसेर विपद्पछिको अवस्थाबारे छलफल गरिएको उनको भनाइ छ।
विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा कामको संयोजन गर्न समिति गठन गरिएको जानकारी दिँदै उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।
उनले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले गरेको कामको प्रशंसा गरे। 'हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्, म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु', दाहालले भने। दाहाल आज बाढीका कारण प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन धादिङको गल्छी गएका थिए।
प्रकाशित: २७ भाद्र २०८३ ११:५५ शनिबार





