१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पहिलो महिला मेयर कान्तिका जुम्लाबाट कांग्रेसको प्रतिनिधि सिफारिस

कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ। नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्वसांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो।

जिल्ला समितिले एकल नाममा सहमति जुटाउने लामो प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।  

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई कांग्रेस जुम्लाबाट चार जनाको नाम सिफारिस गरिएको छ। जसमा पार्टी सभापति कर्णबहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्कबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्य छन्।

कान्तिका सेजुवाल नेपालको पहिलो महिला मेयरका रूपमा स्थानीय शासन र महिला नेतृत्वको इतिहासमा स्थापित नाम हो । पितृसत्तात्मक संरचना बलियो रहेको समयमै नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले महिला सहभागिता, स्थानीय विकास र सुशासनका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याएकी थिइन्। उनको पुनः सक्रिय राजनीतिक उपस्थितिलाई कांग्रेसभित्र अनुभवी र प्रतिकात्मक नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ।

त्यसैगरी समानुपातिक तर्फ १४ जनाको नाम सिफारिस गरिएको छ। जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, खस–आर्य समूहबाट धन बहादुर बस्नेत, गोविन्दबहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य र परेकलाल घर्ती छन्। दलित तर्फ गोरखबहादुर सुनार, महिला तथा दलिततर्फ माया नेपाली, महिलातर्फ नेत्रकला शाही र नविना केसी बडुवाल तथा अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लालबहादुर जिसी र रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ।

यस्तै राष्ट्रिय सभाका लागि पनि चार जनाको नाम केन्द्रमा पठाइएको छ। कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व मन्त्री भक्त बहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रिय सभाका उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस भएका छन्।

प्रकाशित: २ पुस २०८२ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App