१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

अन्ततः सबै वामपन्थी र कम्युनिष्टहरू फेरि एकै ठाउँमा हुन्छौं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा वाम ध्रुवीकरणको नयाँ माहौल बनिरहेको दाबी गरेका छन्। उनले ढिलोचाँडो नेपालका सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरू पुनः एकै ठाउँमा उभिने बताएका हुन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले विगतमा विभिन्न कारणले पार्टीहरू विभाजित भए पनि अबको आवश्यकता र परिस्थितिले एकताको बाटोमा डोर्‍याइरहेको सुनाए।

‘नेपाली कम्युनिष्ट पार्टी बनिसकेपछि ध्रुवीकरणको एउटा नयाँ माहौल बनेको छ,’ दाहालले भने, ‘मलाई लाग्छ केही समयभित्र, अन्ततः फेरि सबै वामपन्थी र कम्युनिष्टहरू हामी एकै ठाउँमा हुनेछौँ।’

उनले विगतको सरकार र गठबन्धनप्रति संकेत गर्दै आफूहरूविरुद्ध घेराबन्दी भए पनि अहिले परिस्थितिले कोल्टो फेरेको जिकिर गरे।

दाहालले जनयुद्धको रोचक पक्ष सुनाउँदै राज्यसँग लड्न माओवादीसँग पर्याप्त शक्ति र हतियार नभएको सुरुवाती चरणमा दलित समुदाय, विशेषगरी दलित महिलाहरूले देखाएको वीरताको स्मरण गरे।

‘हामी अप्ठ्यारोमा थियौं, भर्खर जनयुद्ध सुरु भएको थियो। राज्यले मान्छे मार्न सुरु गरिसकेको थियो,’दाहालले भने, ‘त्यो बेला कालिकोटजस्ता जिल्लामा दलित महिलाहरूले वीरताको यस्तो कीर्तिमान कायम गरे कि, उनीहरूले नै पुलिससँग लडेर, हतियार खोसेर पार्टीलाई बुझाएका थिए।’

उनले जनयुद्धको पहिलो हतियार खोस्ने काम नै दलित महिलाहरूबाट भएको तथ्य पेस गर्दै जनयुद्धलाई राज्यको दमनबाट जोगाउन दलित बस्तीहरूको भूमिका निर्णायक रहेको बताए।

संयोजक दाहालले जनयुद्धको तयारी गर्दादेखि नै आफ्नो दिमागमा दलित मुक्तिलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेल दलित समुदायकै भएको र जनयुद्धको आधार नै दलित बस्तीहरूबाट खडा गरिएको स्मरण गरे।

‘जहाँ दलितहरूको बस्ती छ, त्यहीँबाट क्रान्ति अगाडि बढाउन जोडबल गरिएको थियो,’ दाहालले थपे, ‘त्यसैको बलमा राज्यले जनयुद्धलाई दमन गर्न सकेन र देशको ठूलो भूभाग क्रान्तिको पक्षमा खडा भयो।’

संविधानमा दलित हकहितका विषयहरू लिपिबद्ध भए पनि त्यो पर्याप्त नभएको भन्दै उनले अझै विशेष अधिकारका लागि लड्नुपर्ने अवस्था रहेको बताए।

प्रकाशित: १२ फाल्गुन २०८२ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App