नेपाल कम्युनिष्ट (एमाले) का निलम्बित सचिव र प्रतिनिधिसभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको मुद्दा छिटो टुंगोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल भद्र जेलमा थुनामा रहेका नेता रायमाझीलाई आज भेटेर सभापति भुसालले यस्तो बताएका हुन्। लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधिविहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ।
‘एउटा निर्वाचित जनप्रतिनिधिलाई पुर्पक्षमा यति लामो समय जेल राख्दा अर्घाखाँचीलाई प्रतिकूल प्रभाव पर्यो। जिल्लावासीको नाताले म आग्रह गर्छु, फैसला छिटो होस्,’ सभापति भुसालले भने।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा रायमाझीका प्रतिस्पर्धी रहेका भुसालले तेस्रो स्थान हासिल गरेका थिए। केही दिनअघि नेकपा (माओवादी केन्द्र) नेता जनार्दन शर्माले रायमाझीलाई भद्र जेलमा भेटेर रायमाझीमाथि राजनीतिक पूर्वाग्रह भएकाले चाँडै फैसला भई रिहाइ हुने अपेक्षा व्यक्त गरेका थिए।
जिल्ला अदालत, काठमाडौंमा विचाराधीन रायमाझीको यो मुद्दामा जाहेरीवाला र साक्षीको बकपत्र (बयान) सकिएको छ भने यही साउन १८ गतेका लागि पेसी तोकिएको छ। उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौंले पक्राउ पुर्जी जारी गरी २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो। जिल्ला अदालत, काठमाडौंको एकल इजलासले २०८० असार १ गतेको फैसलाबाट रायमाझीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ। रासस
प्रकाशित: ११ श्रावण २०८२ २०:४६ आइतबार





