२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंका नौ निर्वाचन क्षेत्रमा महिला निर्वाचन अधिकृत

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा सरकारले प्राथमिकताका साथ तयारी कार्यलाई तीव्र बनाएको छ। 

देशकै सबैभन्दा धेरै अर्थात १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा यसपटक नौ वटा क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ। जेन जी आन्दोलन पछि हुन गइरहेको निर्वाचनलाई निष्पक्ष, शान्त र मर्यादित रूपमा सम्पन्न गराउने दायित्व महिलाको काँधमा सुम्पिएको हो।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले महिलालाई दिइएको जिम्मेवारीलाई विश्वास र भरोसाको रूपमा लिनुपर्ने बताईन् । ‘काठमाडौँ जस्तो ठूलो र संवेदनशील जिल्लामा महिलालाई जिम्मेवारी दिनु सकारात्मक सन्देश हो। हामीले इमानदारिताका साथ यो जिम्मेवारी पूरा गरिरहेका छौँ,’ उनले भनिन् ।  

महालेखा नियन्त्रक कार्यालयकी निर्देशक भट्टराईले महिलाले अवसर पाए जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्ने र महिला नेतृत्वको व्यवहारिकता र संयमित प्रस्तुतिले निर्वाचन व्यवस्थापनमा सहयोग पुग्ने गरेको बताइन् । स्थानीय तहको निर्वाचनमा काम गरेको अनुभवले आफूलाई अझ परिपक्व बनाएको उनको भनाई छ ।  

काठमाडौँ क्षेत्र नं. २ की मुख्य निर्वाचन अधिकृत शान्ति न्यौपानेले शान्त, सभ्य र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्नु आफ्नो प्रमुख दायित्व भएको बताइन् । पारिवारिक र पेशागत जिम्मेवारी सँगसँगै निर्वाह गर्दै आएको उनको भनाइ छ।  

निर्वाचन आयोगका अनुसार काठमाडौं –४ मा कृष्णा भण्डारी, काठमाडौं –५ मा श्रद्धा रिजाल, काठमाडौं –६ मा चपला पोखरेल, काठमाडौं –७ मा सविता शर्मा, काठमाडौं –८ मा सम्झना खनाल, काठमाडौं –९ मा मेनुका घिमिरे र काठमाडौं –१० मा अमृताकुमारी शर्मा मुख्य निर्वाचन अधिकृतका रूपमा कार्यरत छन् ।  

यसैगरी काठमाडौं  बाहिर पनि पर्सा–४, सिन्धुली–१, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), कास्की–१, मकवानपुर–१, सिन्धुपाल्चोक–२, बागलुङ–१, भक्तपुर–२, ललितपुर–१ र ललितपुर–२ लगायतका निर्वाचन क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतले जिम्मेवारी सम्हालेका छन्। रासस

प्रकाशित: १३ माघ २०८२ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App