राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कृषि क्षेत्रमा व्याप्त बिचौलियाको बिगबिगी र किसानले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले उत्पादन र बजार मूल्यबीचको ठुलो अन्तरले वास्तविक किसानहरू मारमा परेको बताएकी हुन्।
सांसद तामाङले बजारमा उपभोक्ताले प्रतिदर्जन ३५० रुपैयाँ तिर्नुपर्ने केराको मूल्य किसानले जम्मा ६५ रुपैयाँ मात्र पाउने गरेको सुनाइ। ‘बिचमा कसले यति धेरै नाफा खाइरहेको छ ?’ उनले प्रश्न गरिन्।
उनले कृषि क्षेत्रमा बिचौलियाको प्रभाव र व्याप्त भ्रष्टाचारका कारण वास्तविक उत्पादक सधैं ऋणमा डुब्नुपरेको उल्लेख गरिन्।
कृषिजन्य उत्पादन खेर जाने समस्या समाधानका लागि हरेक स्थानीय तहमा भण्डारण गृह (स्टोरेज) को आवश्यकता रहेको उनको तर्क छ।
‘किसानले सडकमा दूध र गोलभेँडा फाल्नुपर्ने अवस्था दुःखद छ,’ उनले भने, ‘हरेक पालिकामा भण्डारण गृह र प्रशोधन केन्द्र हुने हो भने गोलभेँडाबाट केचअप बनाउने जस्ता उद्योग सञ्चालन गरी किसानको लगानी जोगाउन सकिन्छ।’
सांसद तामाङले रासायनिक मलको वितरण प्रणालीमा समेत त्रुटि रहेको औँल्याइन्। वास्तविक किसानले घण्टौं लाइन बस्दा पनि एक बोरा मल नपाउने तर खेती नै नगर्नेहरूका घरमा ५ देखि १० बोरासम्म युरिया मल थुप्रिएको अवस्था रहेको उनले सनुाइन्।
सहकारीमार्फत् हुने वितरण प्रणालीलाई पारदर्शी र किसानमैत्री बनाउन उनले माग गरिन्।
उनको माटोको उर्वराशक्ति बचाउन र आगामी पुस्तालाई सुरक्षित राख्न प्राङ्गारिक मलको प्रयोग र जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
आफूहरू ‘भुइँमान्छे’ को आवाज बोकेर र आफ्नै हैसियतले संसद् छिरेको स्मरण गराउँदै सांसद तामाङले नीतिगत सुधारका लागि विशेषज्ञहरूको सुझाव अनुसार काम गर्न रास्वपा तयार रहेको बताइन्।
उनले भनिन्, ‘हामी चप्पल पड्काएर सिंहदरबार छिरेका होइनौं, जनताको पीडा सम्बोधन नहुने हो भने यस्ता बैठकको कुनै अर्थ रहँदैन।’
प्रकाशित: २३ वैशाख २०८३ १५:०८ बुधबार





