जेन-जी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् ।
बिहीबार राजधानीमा शहीद परिवार संघर्ष समितिले संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारी गर्न भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् ।
शहीद श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन-जी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति रोष व्यक्त गरे ।
चौलागाईंले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे ।
शहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेटसमेत नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेन-जीहरुले सहानुभूतिसमेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेन-जीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरु आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।’
जेन-जी शहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकूद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग सात दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रकाशित: २३ आश्विन २०८२ १७:१० बिहीबार





