जेन-जी अभियानकर्मी सुदन गुरुङले पोखरा पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रोश पोखेका छन् । उनले अर्याल कानुनी सल्लाह दिन आएर आफैँ मन्त्री बनेको आरोप पनि लगाए ।
पोखरामा तमु छोंज धींले आयोजना गरेको सम्मान कार्यक्रममा उनले अर्यालकै गलत सल्लाहले देशले निकासको बाटो पहिल्याउन नसकेको दाबी गरे ।
उनले भने, ‘अब कसलाई विश्वास गर्ने ? सबै एक्सपर्ट भनाउँदाहरू कोही मन्त्रीका लागि आउँछन्, कोही पदका लागि आउँछन् । सल्लाहकार यति स्वार्थी छन् कि आज गृहमन्त्रीको पदमा बसिरहनुभएको छ, ओमप्रकाश अर्याल बच्चाको रगतमा।’
अर्यालले सही समयमा सही सल्लाह दिएको भए आगामी निर्वाचन फरक हिसाबले हुन सक्ने पनि सुदनले बताए ।
उनले भने, ‘उहाँले कानुनी सल्लाहकार भएर हामीलाई गुमराहमा राख्नुभयो र आज रगत लागेको बच्चाको पदमा बसेर सानसँग गफ हाँकिरहनुभएको छ । संविधान यसरी नै रह्यो भने र संशोधन गर्न सकिएन भने जेनजीको माग पूरा हुँदैन भनेर सल्लाह दिन सक्नुहुन्थ्यो । उहाँले हामीलाई सही सल्लाह दिनुभएन ।’
जेनजी पुस्ताको फोन बालेन्द्र शाह र हर्क साम्पाङले नउठाएपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको गुरुङको तर्क छ । ‘मलाई जेनजीले म्यान्डेट दिएको कुरा हो । कसलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ भनेर सोध्दा हामी सुशीला कार्कीलाई बनाउन चाहन्छौँ
किनभने बालेन्द्र शाह र हर्क साम्पाङले फोन उठाएनन् भन्नुभयो,’ उनले भने, ‘त्यो भनिसकेपछि मलाई मेरा भाइबहिनीले अभिभावकको रूपमा एउटा जिम्मेवारी दिइसकेपछि, उहाँलाई प्रधानमन्त्री बनाउने मेरो जिम्मेवारी हो, बनाएँ ।’
प्रकाशित: १५ मंसिर २०८२ १९:०८ सोमबार





