४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेन प्रधानमन्त्री भए पनि आफ्नै मान्छे नियुक्ति गर्छन्, स्वतन्त्रको भ्रममा नपर्नुस्: राजेन्द्र

फाइल।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ दलको नाममा राजनीति गरिरहेकाहरू नियुक्ति पाएपछि कोही पनि स्वतन्त्र नहुने र अन्ततः नेतृत्वप्रति नै बफादार हुने बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रति लक्षित गर्दै लिङ्देनले भने, ‘बालेन भन्ने मान्छे प्रधानमन्त्री भए अरे मानि लिनुस्। उनीहरूले पार्टीको मान्छे नियुक्ति गर्दैनौँ, स्वतन्त्र र विज्ञ मान्छेलाई नियुक्ति गर्छौं भनेर कसैलाई नियुक्ति गरे रे ! तर, नियुक्ति गरेको दिनदेखि त्यो मान्छे उनीहरूको भयो कि भएन ? भोलि बालेनले भ्रष्टाचार गर्‍यो भने त्यो मान्छेले कारबाही गर्न सक्छ ?’

मतदातालाई भोटको महत्त्व बुझाउँदै लिङ्देनले चुनावको बेला मात्र नेताहरूले जनतालाई नमस्कार गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरे।

उनले भने, ‘अहिले बाटोमा, घरमा जहाँ देख्यो त्यहीँ कोट्याएरै भए पनि नमस्कार गर्छन्। तर, २१ गतेपछि तपाईंले ब्यालेट पेपरमा छाप लगाएर फर्किएपछि कसैले नमस्कार गर्दैन। त्यसैले भोटमा ठूलो शक्ति छ, यसको सही प्रयोग गर्नुहोस्।’

उनले पटक-पटक असफल भएका ठूला दल र तिनै व्यवस्थालाई दोहोर्‍याएर भोट दिँदा जनताले नै दुःख पाउने बताए। ‘गलत मान्छे र गलत पार्टीलाई भोट दिएपछि दुःख कसले पाउँछ ? तपाईं आफैँले पाउने हो,’ उनले थपे।

अध्यक्ष लिङ्देनले भ्रष्टाचार निर्मूल पार्न राप्रपालाई संसद्मा बलियो शक्तिको रूपमा पुर्‍याउन अपिल गरे। उनले भने, ‘भ्रष्टाचारीहरूको टाउकोमाथि जाँतो चलाउने मन छ भने एकचोटि राप्रपालाई मद्दत गर्नुहोस्। हामी आमाको रगत खानु सरह मानेर भ्रष्टाचार गर्दैनौँ।’

उनले आफ्नो लामो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै जुनसुकै मन्दिरमा छिर्न सक्ने चुनौती समेत दिए।

सम्बोधनका क्रममा लिङ्देनले हिन्दु राष्ट्रको एजेन्डाबारे स्पष्टीकरण दिए। उनले राप्रपाले भनेको हिन्दु राष्ट्र सहिष्णुतामा आधारित भएको र यसले अन्य धर्मलाई निषेध नगर्ने बताए।

‘हामीले भनेको हिन्दु राष्ट्र काटमार गर्ने वाला होइन, भाइचारामा आधारित हो,’ लिङ्देनले भने, ‘नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको पालामा हतियार बनाउने देखि लड्नेसम्म मुसलमानहरूको योगदान छ। हिन्दु राष्ट्र हुँदा अल्पसंख्यकहरू राज्यबाट झन् सुरक्षित हुन्छन्।’

आफू लिम्बुको छोरा भएर किरात धर्म लेख्ने भए पनि देशको पहिचानका लागि हिन्दु राष्ट्रको पक्षमा उभिएको उनले बताए।

अध्यक्ष लिङ्देनले प्रज्वल, ताहिर र स्वाती लगायतका उम्मेदवारलाई हलो चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०८२ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App