१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

पाँच वर्षको पुँजीगत खर्चले पनि पुनर्निर्माण गर्न पुग्दैन : सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवामा भदौ १० मा आएको बाढी तथा विपद्बाट भएको क्षति राज्यको पाँच वर्षको पुँजीगत खर्चले समेत धान्न नसक्ने अवस्था रहेको बताएका छन्। 

अर्याल बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित  नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा बोल्दै सभामुख अर्यालले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लामा ठूलो क्षति पुगेको बताए। उनले क्षति पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। 

‘हामीले जुन महाविपत्ति भोग्नुपर्‍यो, त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत विभिन्न जिल्ला प्रत्यक्ष प्रभावित भए। यसले राज्यलाई ठूलो क्षति भएको छ। करिब पाँच वर्षको हाम्रो पुँजीगत खर्चले पनि नपुग्ने अवस्थाको क्षति भएको छ,’ उनले भने, ‘त्यसकारण यसलाई उठाउन निजी क्षेत्रको भूमिका अपरिहार्य र अत्यन्त महत्वपूर्ण छ। तपाईंसँग भएको विज्ञताको पनि यहाँ भूमिका रहन्छ।’  

सभामुख अर्यालले विपद्पछिको पुनर्निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले निजी क्षेत्रलाई हतार नगरी सरकारसँग निरन्तर छलफल र समन्वय गरेर अघि बढ्न आग्रह गरे। 

उनले अहिलेको युवा नेतृत्वले नयाँ सोच र केही गर्नुपर्छ भन्ने हुटहुटीका साथ काम गरिरहेको भन्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए। उद्योग, व्यापार तथा व्यवसाय दीर्घकालीन यात्राका रूपमा अघि बढ्ने भएकाले राज्यसँगको सम्बन्ध पनि सुमधुर बनाउनुपर्ने उनको भनाइ थियो। 

‘राज्यसँग सुमधुर सम्बन्ध विस्तार गर्दै हतार नगरी राज्यसँग पटक–पटक छलफल गरेर समय लिएर अघि बढ्नुपर्छ,’ उनले भने। 

सभामुख अर्यालले नयाँ सरकारले करिब पाँच वर्षको म्यान्डेट लिएर आएको भन्दै आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्म राज्यका विभिन्न तहसँग समन्वय गर्दै निजी क्षेत्रले आफ्ना विषय अघि बढाउन सक्ने बताए। 

उनले विपद्पछि पुरानो प्रविधिबाट घर निर्माण गर्ने वा पुरानै ढाँचामा सहर बसाउने अवस्था नरहेको पनि बताए। सुरक्षित र आधुनिक प्रविधिको प्रयोग गर्दै पुनर्निर्माण अघि बढाउनुपर्ने उनको भनाइ थियो। 

प्रकाशित: १ आश्विन २०८३ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App