२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, चिन्नु र उपयोग गर्नुपर्छ : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिएर सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको बताएका छन्।

महिला उद्यमी सङ्घ बागमतीको नवनिर्वाचित समितिसँगको अन्तर्क्रियामा उनले छिमेकी मुलुकहरूले नेपाली बजारको मागअनुसार वस्तु उत्पादन गर्न सक्ने तर नेपालमा त्यसको कमी देखिएको बताए। खुला बजारका कारण आयात रोक्न नसकिए पनि यहाँ उत्पादन गर्न सकिने वस्तु माग धान्न सक्नेगरी उत्पादन गर्नुपर्नेमा उनको जोड थियो। 

मन्त्री भण्डारीले भने, 'हाम्रा चाडपर्वमा चाहिने अधिकांश वस्तु छिमेकी मुलुकले उत्पादन गर्छन्, त्यसरी नै हामीले पनि उत्पादन बढाउनुपर्छ। रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, केवल त्यसलाई चिन्नु र उपयोग गर्नुपर्छ।'

महिला उद्यमीका लागि सरकारले सहुलियतपूर्ण योजनाहरू ल्याएको उल्लेख गर्दै उनले कम्पनी वा फर्म दर्ता गर्दा महिलाले शुल्क तिर्न नपर्ने व्यवस्था, स्टार्टअप कर्जा कार्यक्रम र बजेटमा समावेश विभिन्न प्रोत्साहन योजनाहरू जानकारी दिए। 'सबै मन्त्रालयका रेडबुक हेरेर आफ्ना क्षेत्रसँग मिल्ने कार्यक्रम पहिचान गर्नुहोस् र लाभ लिनुहोस्,' उनले भने।

महिला उद्यमी सङ्घका अध्यक्ष शोभा ज्ञवालीले सबै प्रदेशमा सङ्गठन विस्तार गरी उद्यमीहरूलाई एकताबद्ध बनाउने अभियान चलाइरहेको बताइन्। साना तथा मझौला उद्यमीलाई तालिम र प्रविधि प्रदान गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्।

प्रकाशित: ३० श्रावण २०८२ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App