२०७९ को निर्वाचनमा १ लाख ८३ हजार १ सय ३० मतसहित पहिलो स्थानमा रहेको एमाले यसपटक समानुपातिकतर्फ तेस्रो स्थानमा झरेको छ। एमालेले १ लाख २० हजार ८ सय ६३ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पनि एमालेले दैलेख-२ मा मात्रै जित निकाल्न सकेको छ। कर्णालीमा लोकप्रिय मतका आधारमा आफूलाई पहिलो शक्ति दाबी गर्दै आएको एमालेका लागि यो परिणाम राजनीतिक प्रभाव खस्किएको संकेतका रूपमा हेरिएको छ।
२०७९ मा समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने यसपटक दुवैतर्फ अग्रता कायम गर्न सफल भएको छ। कर्णालीमा प्रत्यक्षतर्फ पाँच सिट जितेको कांग्रेसले समानुपातिकतर्फ पनि १ लाख ४१ हजार २ सय ३३ मतसहित पहिलो स्थान ओगटेको छ।
कर्णालीलाई आफ्नो आधार क्षेत्रका रूपमा दाबी गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी भने यसपटक समानुपातिकतर्फ चौथो स्थानमा सीमित भएको छ। नेकपाले १ लाख ७ हजार १ सय १ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ चार सिट जितेर दोस्रो स्थानमा रहे पनि चुनावअघि एकीकृत समाजवादी, तत्कालीन माओवादी लगायतका कम्युनिस्ट घटक मिलेर पार्टी गठन गरेपछि पनि समानुपातिकतर्फ अपेक्षाअनुसार मत ल्याउन नसकेको देखिएको छ।
कर्णालीमा प्राप्त मतको विश्लेषण गर्दा प्रत्यक्ष र समानुपातिक परिणामबीच फरक प्रवृत्ति देखिएको छ। कतिपय क्षेत्रमा प्रत्यक्षतर्फ एउटा दल विजयी हुँदा समानुपातिकतर्फ भने अर्को दलले बढी मत प्राप्त गरेको देखिएको छ।
१० जिल्ला रहेको कर्णाली प्रदेशमा यस निर्वाचनमा सबैभन्दा बढी क्षति बेहोर्ने दल एमाले बनेको देखिन्छ। रुकुम पश्चिममा त एमालेभन्दा प्रगतिशील लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ बढी मत प्राप्त गरेको छ। उम्मेदवारी मनोनयन दर्ताभन्दा केही दिनअघि मात्रै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले ७ हजार २ सय २ मत पाउँदा एमाले ५ हजार ८ सय ४७ मतमा सीमित भएको छ। सोही क्षेत्रमा रास्वपाले १० हजार १ सय ४९ मतसहित तेस्रो स्थान बनाएको छ।
जुम्लामा पनि एमालेले उल्लेख्य क्षति बेहोरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमालेभन्दा बढी मत पाएको छ। प्रत्यक्षतर्फ राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्, भने समानुपातिकतर्फ उनको दलले ६ हजार ५ सय ५२ मतसहित तेस्रो स्थान हासिल गरेको छ। एमाले ६ हजार २९ मतसहित चौथो स्थानमा सीमित भएको छ।
जुम्लामा रास्वपाले ५ हजार १ सय १८ मत प्राप्त गरेको छ।प्रत्यक्षतर्फ पराजित भए पनि नेपाली कम्युनिस्ट पार्टीले जुम्लामा समानुपातिकतर्फ पहिलो स्थान हासिल गरेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १० हजार २ सय २ मतसहित पहिलो दल बनेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ हजार ३ सय ६० मत प्राप्त गरेको छ भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १ हजार ४ सय २१ मत प्राप्त गरेको छ। कुल ७१ हजार ७ सय ३९ मतदातामध्ये ४० हजार ८ सय ७८ जनाले मतदान गरेका थिए।
अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९) मा भने समानुपातिकतर्फ नेकपा एमाले १० हजार ५ सय ४८ मतसहित पहिलो स्थानमा रहेको थियो। त्यसबेला नेपाली कांग्रेसले १० हजार ४ सय ७६, माओवादी केन्द्रले ८ हजार ९ सय ६० र राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेका थिए। त्यस्तै एकीकृत समाजवादीले २ हजार ६ सय ४८, नेमकिपाले २ हजार ७३ र रास्वपाले ८ सय ९९ मत पाएका थिए।
सुर्खेत, सल्यान र दैलेखजस्ता जिल्लामा भने रास्वपाले आफ्नो प्रभाव उल्लेख्य रूपमा विस्तार गरेको देखिन्छ। एमाले र कांग्रेसको बलियो किल्ला मानिएको सुर्खेतमा समग्र रूपमा रास्वपाले ५४ हजार २ सय २६ मतसहित समानुपातिकतर्फ शीर्ष स्थान हासिल गरेको छ। क्षेत्रगत रूपमा सुर्खेत–१ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस विजयी हुँदा सुर्खेत–२ मा रास्वपाले दुवैतर्फ ‘क्लिन स्वीप’ गरेको छ। सल्यानमा पनि प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको रास्वपाले समानुपातिकतर्फ ३३ हजार ६ सय ९९ मतसहित पहिलो स्थान हासिल गरेको छ। अघिल्लो निर्वाचनमा त्यहाँ एमालेले सबैभन्दा धेरै मत पाएको थियो।
रास्वपा हिमाली जिल्लामा अझै व्यापक रूपमा फैलिन नसके पनि प्रतिस्पर्धामा भने प्रवेश गरिसकेको देखिन्छ। कर्णालीमा पहिलो पटक नै प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ दोस्रो स्थान हासिल गर्नु रास्वपाका लागि उल्लेख्य उपलब्धि भएको सरोकारवालाहरूको भनाइ छ। चार प्रमुख दल बाहेक कर्णालीमा पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ हजार ७ सय ५५ मत प्राप्त गरेको छ।
यस्तै, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ८ हजार ५ सय ३७, विप्लव नेतृत्वको माओवादीले ५ हजार ९ सय ३६ मत प्राप्त गरेका छन्। कुनै समय प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ५ हजार १ सय ३० मत पाएको छ। त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ४ हजार ६ सय ५७, जसपाले १ हजार २ सय ४७, सार्वभौम नागरिक पार्टीले १ हजार ५३, जनता संरक्षण पार्टीले १ हजार ३४ र जनमोर्चाले ९ सय ५७ मत प्राप्त गरेका छन्।
प्रकाशित: २७ फाल्गुन २०८२ ११:४७ बुधबार





