सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकारले सबैखाले तयारी गरिरहेको बताएका छन्।
बिहीबार ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले भने,“निर्वाचन सफल बनाउने वातावरणक लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्साव होइन, अब महोत्सव बन्दैछ ।”
सरकारले सबैखाले स्रोत साधन र जनशक्तिको व्यवस्था गरेर निर्वाचनका लागि तयारी गरिरहेको उनले जानकारी दिए। “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन् ।”
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पुरा गर्न सक्रिय भएको उल्लेख गरे।
उनले तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेको जानकारी दिँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य एको प्रष्ट पारे । मन्त्री खरेलले भने,‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’
प्रकाशित: ३ पुस २०८२ १७:०६ बिहीबार





