१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनावी चर्चा: चुनावलक्षित दलीय गतिविधि

बाँके, राप्ती सोनारी-४ का खुसीराम थारु कृषि पेशा गर्छन्। कृषिलाई नै मुख्य पेशा बनाएका उनलाई एउटै चिन्ता छ, ‘खेती गर्दा समयमै मल र बीउ पाइयोस्।’

आम निर्वाचन आउँदै गर्दा उनको मनमा खासै उत्साह देखिंदैन। हरेक पटक आउने चुनावमा दलहरूले किसानमुखी घोषणा पत्र ल्याउँछन् तर चुनावपछि खुसीराम जस्ता किसानका माग सम्बोधन हुँदैनन्। जसले गर्दा यो निर्वाचन उनका लागि त्यति उत्साहजनक नदेखिएको हो।

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन उनका लागि नयाँ भने होइन्। ‘हामी किसान मान्छेलाई चुनाव खासै ठुलो कुरा होइन, चुनाव भएपछि भोट हाल्छौं, कोही न कोहीलाई जिताएर पठाउँछौं,’ उनले नागरिकसँग भने, ‘हामीले जिताएर पठाउने नेताले हामी किसानको लागि कति काम गर्‍यो भन्ने महत्त्वपूर्ण कुरा हो।’

विगतका निर्वाचनमा उम्मेदवारले बोलेका प्रतिबद्धता पूरा नगरेका र जितेका उम्मेदवार एक पटक पनि गाउँमा नफर्किँदा यो निर्वाचन उनका लागि हर्ष, न विस्मात जस्तै छ।

आआफ्नो दाबी

२०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचनलाई जेन–जी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेर तयारी थालिसकेको छ। तयारी स्वरुप जिल्ला–जिल्लामा मतदाता नामावलीमा नाम दर्ता लगायतका कामहरू गरिएको छ। कुल ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाँकेमा यसपटक हुन लागेको निर्वाचनबारे गाउँ–शहरका चोक, चौतारा तथा चिया पसलमा विभिन्न विश्लेषण र अड्कलबाजी गर्न थालिएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा मिश्रित खालको परिणाम आएकाले यसपटक परिणाम कस्तो आउँछ भन्नेमा अहिले नै अनुमान लगाउन भने कठिन देखिएको सर्वसाधारण बताउँछन्।

२०७९ सालको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य ढकाल निर्वाचित भएका थिए। कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज ‘अथक’ लाई पराजित गरेका थिए।

पूर्व खेलकुद मन्त्री समेत रहेका गहतराजले उक्त क्षेत्रबाट यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका माधवराम खत्रीलाई पराजित गरेर संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। त्यस बेला नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो भने नेपाली कांग्रेस राप्रपालाई साथमा लिएर चुनाव लडेको थियो।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला चुनाव लड्ने बाँके क्षेत्र नम्बर २ मा २०७९ को निर्वाचनमा राप्रपाका महामन्त्री धवलसम्शेर राणा निर्वाचित भएका थिए। एमालेको समर्थनमा चुनाव लडेका राणाले तत्कालीन जनता समाजवादी पार्टी नेपालका नेता एवम् पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई पराजित गरेका थिए।

कांग्रेसको गढ भनेर चिनिने उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सुदिपनरसिंह राणाले आफ्नो जमानत समेत जोगाउन सकेनन्। यसअघि २०७४ को निर्वाचनमा उक्त क्षेत्रमा जसपा नेपालका नेता इस्तियाक निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्रलाई पराजित गरेका थिए। कांग्रेस–राप्रपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका नेता ओमप्रकाश आजाद तेस्रो भएका थिए।

यस्तै क्षेत्र नम्बर ३ मा २०७९ सालको निर्वाचनमा कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौंर निर्वाचित भएका थिए। कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार राठौरले नेकपा एमाले बाँकेका पुर्वअध्यक्ष किस्मतकुमार कक्षपतिलाई पराजित गरेका थिए। उक्त क्षेत्रमा एमाले एक्लै चुनाव लडेको थियो।

यसअघि २०७४ को निर्वाचनमा उक्त क्षेत्रमा एमालेका तत्कालीन जिल्ला अध्यक्ष नन्दलाल रोकाय निर्वाचित भएका थिए। एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार रोकायले कांग्रेसका उम्मेदवार कृष्णमान श्रेष्ठलाई पराजित गरेका थिए। कांग्रेस बाँकेका पूर्वअध्यक्ष श्रेष्ठलाई राप्रपाले त्यति बेला साथ दिएको थियो।

जेन-जी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था अहिले भने पूरै फेरिएको छ। जेन–जी आन्दोलनका कारण यस पटक निर्वाचनको फरक आउने विश्लेषण गर्न थालिएको छ। त्यसरी आउने निर्वाचन परिणामले जिल्लाको राजनीतिमा तरंग ल्याउन सक्ने अनुमान भइरहेको छ।

चुनावको विकल्प छैन

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक हरि सुवेदी आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई फरक तरिकाले विश्लेषण गर्छन्। उनका विचारमा वर्तमान संविधानलाई मानेर जाँदा चुनाव हुन अन्यौल छ। तर पनि, निर्वाचन नगरी अर्को विकल्प छैन। ‘किनभने देशमा स्थायित्व चाहिन्छ, स्थायित्वको लागि चुनाव हुन जरुरी छ, त्यसका लागि फागुन २१ गतेभित्रै सहमति बन्छ वा बन्दैन भन्ने कुरा निकै क्रिटिकल छ,’ सुवेदीले भने, ‘अहिले हेर्दाखेरी अरू पार्टीहरू करिब–करिब चुनावमा लाग्न थालेको जस्तो देखिन्छ, तर योभन्दा अगाडि सत्तामा नेतृत्व गरेको दल (एमाले) सहमतिमा नआएको स्थिति देखिन्छ, अब सबै दलहरूले एक किसिमको वातावरण सिर्जना गर्न लाग्नु भयो भने चुनाव नहुने भन्ने त नहोला।’

२०४६ साल यताका राजनीतिक अवस्था, देशको विकास, राजनीतिक नेतृत्वबाट धेरै काम भए पनि खुलेआम गरिएका कतिपय भ्रष्टाचारका काण्डले जनतामा आक्रोश पैदा गरेको उनको तर्क छ। ‘आगामी निर्वाचनका लागि पुराना दलहरूले आफूलाई सच्याएर कति गर्न सक्छन् भन्ने कुरा उनीहरूमा निर्भर रहन्छ, नयाँ राजनीतिक दलहरू खोल्ने र पुरानाहरू फेरि एकीकृत हुने यो स्थिति छ, अहिले चाहिं जति कम दल भएर प्रतिस्पर्धी हुन सक्छन्, जनताले त्यति चाहिं विकासको लाभ लिन पाउँछन् जस्तो लाग्छ।’

निर्वाचनका लागि बाँकेमा केही नयाँ अनुहार प्रतिस्पर्धामा आउने सम्भवना उनी देख्छन्। २०८४ को निर्वाचनका लागि समेत केही युवाले आफूलाई उम्मेदवार घोषणा गरेर प्रस्तुत गरिरहेका छन्। आगामी फागुनको निर्वाचनका लागि पनि नयाँ अनुहार आउने सम्भावनालाई यसले बल गरेको विश्लेषण सुवेदीको छ।

जेन-जी आन्दोलनपछिका केही राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमले आम चुनाव पहिलेको भन्दा फरक हुन्छ र उम्मेदवारहरू पनि हिजोका भन्दा फरक राख्नुपर्ने सबै राजनीतिक दललाई बाध्यता छ। ‘चुनावबारे अहिले नै स्पष्ट रूपले बाहिर नआए पनि चुनाव नै हुन्छ/हुँदैन भन्ने किसिमका कुरा मात्र होइनन्, यो अहिलेको वर्तमान सरकार अत्यन्तै ढुलमुल छ र कतिञ्जेलसम्म टिक्न सक्छ भन्ने थाहा छैन,’ राजनीतिक विश्लेषक एवम् पत्रकार नरेन्द्रजंग पिटरले भने।

सामान्य रूपबाट आउँदो चुनावलाई हेर्न नसकिने उनी बताउँछन्। सरकारले विश्वास दिलाउन आफ्नो सार्वभौम अधिकारको पुष्टि गर्नुपर्ने पत्रकार पिटरको सुझाव छ।

‘कुनै पनि बेलाका अपराधीहरू कानुनी रूपबाट उम्किएका वा सामाजिक दवावका साथमा उम्केका अपराधीलाई कारबाहीको बीचमा ल्याएर मनोबल उच्च गराउनुपर्नेछ, दण्ड र पुरस्कारको अवस्था सिर्जना गर्नुपर्नेछ, यी सबै चिज गर्न पहिलो कुरा उसको आधार नै ठिक हो कि होइन भनेर जवाफदेही बन्नुपर्छ,’उनी भन्छन्।

के गर्दैछन् दलहरू?

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा रहेका अधिकांश राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेको बताएका छन्। दलहरूले चुनावको तयारी स्वरूप आन्तरिक रूपमा भेला, अन्तर्क्रिया, प्रशिक्षण, सभा जस्ता कार्यक्रम गरेका हुन्।

निर्वाचनको अर्को विकल्प नभएकाले राजनीतिक दलहरू चुनावमा जानुपरेको हो तर यसअघिका निर्वाचनमा दलहरू जसरी पुर्वतयारीमा लागेको देखिन्थ्यो, यसपटक त्यसरी चुनावमा होमिएको अहिलेसम्म देखिँदैन।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आसन्न निर्वाचनको तयारी स्वरूप मतदाता नामावलीमा सहभागी हुन पार्टीका शुभेच्छुक, कार्यकर्ता तथा आम जनतालाई सूचना, सन्देश पुर्‍याउने र समन्वय गरिरहेको सुनाए। ‘सरकारले निर्वाचनको मिति घोषणा गरेर आवश्यक तयारी थालिसकेको अवस्थामा नेपाली कांग्रेस पनि आन्तरिक रूपमा तयारीमा जुटेको छ, केन्द्र र प्रदेशबाट हामीलाई सर्कुलर आएको छ, हामीले पनि तल्लो तहसम्म सर्कुलर गरिसकेका छौं,’ सभापति गौडेलले भने, ‘केही दिनपछि पार्टीको तर्फबाट नीतिगत कार्यक्रम बनाएर चुनावी अभियानमा लाग्नेछौं।’

प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन गरेर नयाँ जोश, जाँगरका साथ कांग्रेसका उम्मेदवारहरु मैदानमा उत्रिने उनले बताए।

नेकपा एमाले बाँकेका उपाध्यक्ष समेत रहेका लुम्बिनी प्रदेशका सांसद रत्न खत्रीको भने आसन्न निर्वाचनबारे अलि फरक धारणा छ। जेन–जी आन्दोलनका क्रममा प्रहरीबाट खोसिएका हतियार र पोशाक फिर्ता नभइसकेको, हजारौं कैदी/बन्दी बाहिर रहेको अवस्थामा शान्ति, सुरक्षाको असहज परिस्थितीका कारण चुनावको वातावरण बन्न नसकेको उनी बताउँछन्।

‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पुर्वगृहमन्त्री रमेश लेखकलाई यो सरकारले स्थान हद कायम गरेको छ, करिव ६ हजार कैदी बन्दी अहिले पनि बाहिर छन्, लुटिएका प्रहरीका हतियार र बर्दी फिर्ता भएका छैनन्,’ उपाध्यक्ष खत्रीले भने, ‘अपराधीको हातमा प्रहरीका हतियार र बर्दी भएको अवस्थामा जनतालाई सरकारले शान्तिपूर्ण रूपले चुनाव गराउने कुराको विश्वास दिलाउनुपर्‍याे, अहिलेसम्म त्यो वातावरण देखिँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष हरपाल सिंह केसीले आसन्न निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताउँदै निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको जानकारी दिए। ‘बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी रहन्छ, निर्वाचनका लागि हाम्रा धेरै आकांक्षीहरू हुनुहुन्छ,’ उनले भने, ‘पार्टीको संगठन विस्तारसँगै चुनावको तयारीमा लागेका छौं।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले गराउन लागेको निर्वाचनलाई राप्रपाले स्वागत गरिसकेको र पार्टीले आन्तरिक तयारी गरिरहेको सुनाए। ‘अहिले हाम्रो पार्टीभित्र महाधिवेशनको चटारो छ,’ उनले भने, ‘पार्टीको नेतृत्व परिवर्तन गरेर आम निर्वाचनमा जाने हाम्रो पार्टीको योजना छ।’

यसका लागि मंसिर मसान्तभित्रमा जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका रहेको अध्यक्ष पौडेलले सुनाए।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाँकेका सचिव राजेन्द्र विश्वकर्मा चुनावमा भाग लिने केन्द्रिय समितिको निर्णय अनुसार आन्तरिक तयारीमा जुटिसकेको बताए। ‘केन्द्रिय समितिको परिपत्र अनुसार जनतामाझ गइरहेका छौं, हामी हिजो पनि जनताकै बीचमा थियौं, अब पनि जनतासँगै रहनेछौं,’ सचिव विश्वकर्माले भने। चुनावी कार्यक्रम पनि अब केहीदिन भित्रै गर्ने तयारी रहेको उनले जनाए।

त्यस्तै उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालका सचिव सुर्यलाल यादव चुनावको तयारी केन्द्रीय परिपत्र अनुसार हुने बताउँछन्। ‘चुनावमा कसरी सहभागी हुने, कुन पार्टीसँग गठबन्धन गर्ने भन्ने कुराको परिपत्र केन्द्रबाट पक्कै पनि आउँला,’ यादवले भने, ‘हामी अहिले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको तयारीमा छौं, अधिवेशनलगत्तै प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्छौं।’

निर्वाचन आयोगमा हालै दर्ता भएर केन्द्रिय स्तरमा आफ्नो गतिविधि सुरु गरेका नयाँ राजनीतिक दलले बाँकेमा भने अहिलेसम्म कुनै समिति विस्तार गरेका छैनन्। प्रतिनिधि सभा निर्वाचनकै लागि स्वतन्त्र ब्यक्तिहरूले पनि आफ्नो गतिविधि बढाएका छैनन्।

‘जेन-जीआन्दोलनको म्याण्डेट पूरा गर्न निर्वाचन नै उत्तमविकल्प’

जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन गराउने तयारी गरिरहेको छ। उक्त निर्वाचनको तयारी दलहरूले आन्तरिक रूपमा गरिरहेका छन्, कतिपय दलले देशको शान्ति सुरक्षा लगायत विभिन्न कारण देखाउँदै निर्वाचनको तयारीमा जान नसकिरहेको कुरा जिकिर गरिरहेका छन्। तर जेन–जीआन्दोलनको मर्म अनुसार चुनावमा गएर ताजा जनादेशमा जानुको विकल्प नभएको आम नागरिकहरूले बताइरहेका छन्। यसै विषयमा बाँकेका नागरिकहरूसँग नेपालगन्जस्थित नागरिककर्मी अर्जुन ओलीले संकलन गरेको धारणा:

‘जनता जाग्नुपर्छ’

रोशन केसी, पुर्वअध्यक्ष, नेपालगन्ज जेसीज

जेन-जीको आन्दोलन सही थियो भन्ने कुरा प्रमाणित गर्न फागुन २१ मा चुनाव हुन जरुरी छ। यसमा चाहिं विशेष गरेर नेपालमा भएका ठुला पार्टीले सहयोग गर्न जरुरी छ। उहाँहरू निष्पक्ष रूपमा आफ्ना पार्टीमा भएका नयाँ पुस्ता अगाडि बढाएर फागुन २१ मा आउनुभयो भने सारा जनताले स्वागत गर्नेछन्।

हामी जस्ता युवाले खोजेकै यही हो। मेरो यही अपेक्षा छ। जेनजीले अपेक्षा लिएर गरेको आन्दोलनमा वातावरण धमिलिएको छ। धमिलो पानीमा माछा मार्ने कामचाहिँ केही विकृत मानसिकता भएका मान्छेले गर्न खोजिरहेका छन्। हामीले मान्छे भिडाउने र लडाउने गरेकाे देखिरहेका छौं। यसलाई चिरेर हामी अगाडि जानुको विकल्प छैन।

हामीले देशलाई पछाडि धकेलिरहेका छौं। अरू देशहरू कहाँ पुगिसके। सबैले मनन् गरेर राम्रा व्यक्तिलाई अगाडि सारेपछि जेन-जीले गरेको आन्दोलनले सफलता पाउनेछ। अहिले नयाँ शक्ति र व्यक्तिहरू अगाडि आउने बेला छ तर एकीकृत नभएर छरिएर आउनुभयो भने पुरानै अवस्था आउनेछ। दुई–चार सिट कसैले ल्याउँला तर त्यसले खासै फरक पार्दैन।

हर्क, बालेन जस्ता मान्छेहरू मिलेर एउटा पार्टी बनाइदिनुभयो भने हामी जस्ता युवालाई भोट दिन सहज हुन्थ्यो। होइन भने हामीलाई फेरि पनि अब अलमलमा पर्ने वातावरण भइरहेको छ। कुनै व्यक्ति एकातिर, कुनै ब्यक्ति अर्कोतिर हुनुहुन्छ। राम्रो व्यक्तिहरू छरिएर जाँदा फेरि पुराना पार्टी अगाडि आउने अवस्थाआउन सक्छ।

‘पुस्तान्तरण हुनुपर्छ’

सुरेन्द्रदेव कार्की, नेपालगन्ज

दलहरूले २०८४ मा गर्ने चुनावलाई जेन-जीले २०८२ मै ल्याइदिएका छन्। दुई वर्ष अगाडि नै चुनाव हुँदैछ। भदौ २३ र २४ को जुन जेन-जीले आन्दोलन गरे। आन्दोलनको म्याण्डेट पनि हो। हामीले हाम्रो संविधान बचाउनु छ जसरी पनि। जेनजीको आन्दोलनलाई पनि न्याय दिनुपर्छ। त्यसैले चुनाव जसरी पनि हामी सबै मिलेर समयमा सम्पन्न गर्नुपर्छ।

चुनाव पहिलेको भन्दा अलिकति फरक हुन सक्छ र हामी पनि फरक हुनुपर्छ। जेन-जीको आन्दोलनले पुस्तान्तरण र हस्तान्तरणका कुराहरू गरेको छ। यो चिजचाहिँ दलहरूले पनि बुझ्नुपर्‍याे। राम्रा मान्छेहरू आउनुपर्‍याे। बेदागी मान्छेहरू आउनुपर्‍याे। अपराधिक मान्छेहरू, भ्रष्ट मान्छेहरूचाहिँ आउनुभएन भन्ने जेनजी आन्दोलनको माग छ। त्यो माग अनुसार नै हुनुपर्छ।

‘राम्रालाई मात्र भोट दिऔं’

सौरभ शाह, नेपालगन्ज

यत्रो वर्ष जे भयोभयो। अब नागरिकहरू जाग्नुपर्‍याे। आफ्नो भोट तपाईको बच्चाको भविष्य हो भनेर हाल्नुपर्‍याे। हाम्राेलाई होइन, राम्रोलाई भोट हाल्नुस्। पहिलाको चुनावमा मासुभात खाएर मासुभातलाई भोट दिए। अब मासुभात खाएर सत्यवादलाई भोट दिन्छन् यसपालि। खान त सबैको खान्छन् नेपाली तर भोटचाहिं मनको दिन्छन् यो पालि। आफ्नो बच्चाबच्चीको भविष्यका लागि भोट दिन्छन्। जुनजुन ठाउँमा जनता जागरूक छ। जस्तै तराई बेल्टहरू धरान, धनगढी, काठमाडौं, पोखरा यी ठाउँमा नसोचे हुन्छ तर यिनीहरू विकट–विकट ठाउँबाट लड्ने भए। जहाँ मान्छेलाई भेडा जस्तो घुमाइन्छ, ती ठाउँबाट लड्ने भए। ती ठाउँमा सचेत हुनु होला। जो पनि भोट माग्न आउँछ, नेपाली कागजमा टाप लगाएर आउनुहोला। कि म योयो काम गर्न सक्छु, नत्र म दुई वर्षभित्र राजीनामा दिन्छु भन्ने व्यक्ति आउनुपर्‍याे। कर्मचारीतन्त्रलाई ब्रेक गर्नुपर्‍याे। भ्रष्टाचार निर्मुल गर्ने एक मात्र चिज हो, पारदर्शिता।

‘युवाले जित्नुपर्छ’

रामप्रसाद पाण्डे, नेपालगन्ज

फागुन २१ को चुनाव हुँदैछ, त्यो हामी नागरिकलाई थाहा भएकै कुरा हो। पुरानो हिसाबले चुनाव नहोस्। आधुनिक हिसाबले चुनाव होस्। निष्पक्ष हिसाबले चुनाव होस्। राम्रो मान्छे निर्वाचित भएर जाओस्। देश बनोस्। पहिलेको जस्तो घुसपैठ, देश लुट्ने त्यो ठाउँमा नपुगोस्। राम्रो मान्छे जाओस्। हाम्रो यही चाहना छ। जेन-जी आन्दोलनले नै बताइसकेको छ। आउने नेताहरू केही देशलाई गर्नुपर्ने रहेछ भन्ने उद्देश्यका साथ आउन। हाम्रो यही चाहना छ। पार्टीहरू धेरै छन्। कुन पार्टी कतिखेर आउने भन्ने थाहा त छैन। पार्टी दर्ता भइरहेका छन्। कसले कहाँ, कति जित्ने हो, त्यो त ठेगान छैन। किनभने विदेशबाट पनि भोट हाल्ने व्यवस्था मिलाउनुपर्‍याे। आम नागरिक विदेश गएका छन्। अब नेपालमा रोजगारी छैन भनेर सबैजना विदेशतिर लागेका लाग्यै छन्। त्यो रोक्ने व्यवस्था पनि गर्नुपर्‍याे। नेपाल त भोलि गएर वृद्धा आश्रम बन्ने हो कि त्यो डर छ।

‘विकासप्रेमी छानाैं’
वासुदेव थारु, राप्ती सोनारी

चुनावबारे मलाई त्यति थाहा छैन। विकास गर्न राम्रो उम्मेदवार चाहियो। राम्राे बोलीचाली र  दुःखसुखमा साथ दिने हुनुपर्‍याे। अहिलेसम्म जिताएकाले वास्ता गर्दैनन्। चुनावमा जितेपछि कहाँ भाग्छन्, थाहा हुँदैन। अहिलेसम्म कति भोट हालियो थाहा छैन तर धेरै चोटि भोट हालेर जिताइयो। कांग्रेस, माओवादी र एमालेलाई जितायौं। अबको चुनावमा काम गर्ने मान्छे आउनुपर्‍याे। जनतालाई ढाँटेर आफ्नो स्वार्थ पूरा गर्ने नेता हामीलाई चाहिँदैन।  

प्रकाशित: २८ कार्तिक २०८२ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App