३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको ४८ घण्टे आचारसंहिता, प्रचारप्रसारदेखि सञ्जालसम्म कडाइ

निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कडा नियम लागू हुने जनाएको छ। आयोगका अनुसार उक्त अवधिलाई ‘मौन अवधि’ का रूपमा लिइने र यस अवधिमा निर्वाचन आचारसंहिताअनुसार विभिन्न गतिविधिमा रोक लगाउने बताएको छ ।  

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा सर्वसाधारण सबैलाई तोकिएका नियम  साथ पालना गर्न निर्देशन दिएको छ। 

मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी तथा  राजनीतिक कार्यक्रम गर्न नपाउने आयोगले जनाएको छ। उम्मेदवार वा दलको पक्ष–विपक्षमा जनमत प्रभावित पार्ने गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताएको छ। 

साथै यस अवधिमा बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोज–भतेर आयोजना गर्ने, जुलुस प्रदर्शन गर्ने वा कुनै पनि प्रकारको सभा–समारोह गर्न नहुने बताएको छ। विभिन्न ठाउँमा हुलहुज्जत, होहल्ला वा असामाजिक गतिविधि गरी निर्वाचनको वातावरण प्रभावित पार्न नपाइने  समेत आयोगले जनाएको छ।  

आयोगले सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न प्रतिबन्ध लगाउनुको साथै डिजिटल माध्यममार्फत हुने प्रचारप्रसारसमेत मौन अवधिमा पूर्ण रूपमा रोकिएको छ। 

साथै निर्वाचन प्रचारप्रसार तथा मत माग्न साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा अन्य कुनै माध्यम प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।  मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता, मतदान केन्द्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीलाई बाधा पुर्‍याउने कार्य गर्न नपाइने व्यवस्था गरेका छ ।  

विभिन्न राजनीतिक दल, उम्मेदवार तथा तिनका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत प्रकाशित गरिएका विज्ञापन तथा प्रचार सामग्री मौन अवधि सुरु हुनुअघि नै हटाउनुपर्ने आयोगले जनाएको छ। 

साथै आयोगले मतदान केन्द्र रहेको घर, भवन वा स्थानको वरिपरि शान्ति भंग गर्ने, भय–त्रास सिर्जना गर्ने वा निर्वाचनको वातावरण बिथोल्ने कुनै पनि गतिविधि गर्न नहुने बताउँदै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री अनिवार्य रूपमा हटाउनुपर्ने व्यवस्था गरिएको छ। 

साथै तोकिएको क्षेत्रमा पोस्टर, ब्यानर, पम्पलेट लगायत सामग्री राखिएको पाइएमा हटाइने र सम्बन्धित पक्षलाई कारबाही गरिने आयोगले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०८२ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App