५ मंसिर २०८३ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जुम्लामा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा भरत स्वाँर र गुठिचौर गाउँपालिकाको अध्यक्षमा नुर्बु लामाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

चन्दननाथ नगरपालिका-२ भण्डारीबाडाका स्वाँरले शनिबार सदरमुकाम खलंगास्थित दौतरी होटलमा पत्रकार सम्मेलन गरी नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले नगरको विकास र समृद्धिका लागि आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन्।

स्वाँरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन्। फोहोरमैला व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा, सामुदायिक विद्यालयको सुधार, युवालाई रोजगारी र स्थानीय उत्पादनको बजारीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

त्यस्तै, चन्दननाथ मन्दिरसहित धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थित बजार, खानेपानी, सडक र डिजिटल सेवा प्रवाहमा जोड दिने उनको योजना छ। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको उनले बताएका छन्।

'विकास भाषणले होइन, स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व, सामूहिक प्रयास र परिणाममुखी कामले सम्भव हुन्छ,' स्वाँरले प्रतिबद्धतापत्रमा भनेका छन्। उनले नगरप्रमुखमा निर्वाचित भए पाँच वर्षसम्म पाउने सेवासुविधासमेत नलिने घोषणा गरेका छन्।

यसैगरी, जुम्लाका होटल व्यवसायी नुर्बु लामाले गुठिचौर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्। जुम्ला विमानस्थल नजिकै कान्जिरोवा होटल सञ्चालन गर्दै आएका लामाले गुठिचौरलाई कृषि र पर्यटनको नमुना गाउँपालिका बनाउने लक्ष्य राखेको बताएका छन्।

टेलिफोनमार्फत कुरा गर्दै उनले कुनै पनि दलको चुनाव चिह्नबाट नभई स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने बताए। यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध थिए।

स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुअघि नै दुई जनाले उम्मेदवारी घोषणा गरेपछि जुम्लामा चुनावी चर्चा सुरु भएको छ।

प्रकाशित: ५ मंसिर २०८३ २१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App