५ मंसिर २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका शाह आइतबार मध्याह्न १:४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने।

सो अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गरिने कार्यक्रम छ।

साथै, व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

भ्रमणकै क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ जना रहेका छन्।

त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्। भ्रमणको पहिलो दिन आइतबार शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गरेपछि उनले भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका क्रममा नेपाल-भारत बिजनेश फोरमको छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्न भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपाल सरकारका नीतिगत दृष्टिकोण तथा प्रयास प्रस्तुत गरिने र व्यवसायीका चासो तथा सरोकार सुनिनेछ।

यो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु बन्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ५ मंसिर २०८३ १९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App