भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार परराष्ट्र मन्त्रालय पुगेर मिस्रीले परराष्ट्र मन्त्री राणासँग भेटेका हुन्।
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ। दुवै जना बिचमा आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयबारे पनि कुराकानी भएका थिए।
भेटका क्रममा मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रूपमा रहेको बताइन्। उनले भारतका पक्षबाट प्राप्त आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि पनि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन्।
यस्तै दुई देश बिच पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलाप भएको, विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ‘इन्गेजमेन्ट’ बढेकामा पनि मन्त्री राणाले खुसी व्यक्त गरिन्।
यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक वातावरण मिलाउन पनि मन्त्री राणाले आग्रह गरिन्। यस्तै नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री राणाको जोड रह्यो।
यस्तै भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणमा शीघ्रता प्रदान गरिदिन पनि उनले आग्रह गरेको सचिवालयले जनाएको छ।
यस्तै नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै उनले व्यापार सहजीकरणमा जोड दिइन्। साथै पछिल्लो समयमा प्लाइउड, स्टिल लगायतका उत्पादन भारत निकासीमा समस्या उत्पन्न भएकोको विषयमा पनि ध्यानाकर्षण गराइन्।
यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषय उल्लेख गर्दै राणाले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन्।
प्रकाशित: १ भाद्र २०८२ १८:५० आइतबार





