नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति निर्माण र परिवर्तनलाई संस्थागत गर्ने अधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको बताएका छन्।
महाधिवेशनको तयारीबारे जानकारी दिँदै चालिसेले असोज १९ र २० गते छलफल सत्र आयोजना हुने बताए। उनले बन्द सत्रलाई छलफल सत्रका रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिए।
छलफल सत्रमा उठेका विषय, आएका धारणा र पार्टीको आगामी दिशाबारे प्रत्येक दिन दुईपटक पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी रहेको उनले बताए। आवश्यकताअनुसार केही विषय प्रत्यक्ष प्रसारण गर्ने र केही विषय संक्षेपमा सार्वजनिक गर्ने उनले जानकारी दिए।
असोज २१ र २२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ। मनोनयनपछि मतदानको कार्यक्रम निर्वाचन आयोगले निर्धारण गर्ने उनको भनाइ छ।
महाधिवेशनलाई नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको उनले बताए। कांग्रेसमा देखिएको परिवर्तनलाई संस्थागत गर्दै जनताको अपेक्षाअनुसार पार्टीलाई थप सुधार गर्ने नीति र नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
‘यो महाधिवेशन परिवर्तनलाई संस्थागत गर्ने अधिवेशनमा रूपान्तरित गर्ने प्रयासमा छौँ। यसका लागि नेतृत्व चाहिन्छ, नीति पनि चाहिन्छ,’ उनले भने।
छोटो समयमा महाधिवेशनको तयारी र व्यवस्थापन गर्नुपरेकाले केही कठिनाइ भएको स्वीकार गर्दै उनले समय अभावका कारण व्यवस्थापनमा चुनौती देखिएको बताए।
यस महाधिवेशनमा अन्तर्राष्ट्रिय सम्मेलनमा वैचारिक रूपमा नजिक रहेका, समदूरी र समभाव राख्ने तथा अन्तर्राष्ट्रिय भाइचारावादमा विश्वास गर्ने राजनीतिक दलहरूलाई सहभागी गराउने तयारी रहेको उनले बताए।
प्रकाशित: १७ आश्विन २०८३ १६:४२ शनिबार





