नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारका मन्त्रीहरूमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले त्यसको व्यंग्यात्मक प्रतिवाद गरेका छन्।
मंगलबार नेता बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि ५ अर्ब रुपैयाँको ‘सेटिङ’ गरेको आरोप लगाएका थिए। सोही आरोपसहितको पोस्ट सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले बस्नेत र उनको पार्टीले विगतमा गरेका कामप्रति तिखो व्यंग्य प्रहार गरेका हुन्।
मन्त्री पुनले एमाले नेता बस्नेतको अभिव्यक्तिलाई ‘हाँसउठ्दो’ भन्दै टिप्पणी गरेका छन्। उनले विगतमा सत्तामा हुँदा उनीहरूले देशको कायापलट गरेजस्तो गरी अहिले अरूलाई अर्ती दिएको भन्दै आश्चर्य प्रकट गरे।
‘के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले– म त हाँसेरै मर्छु कि क्या हो।’ शिक्षामन्त्री पुनले लेखेका छन्।
यसअघि एमाले नेता बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ५ हजार मेगावाट विद्युत खरिद सम्झौता (पीपीए) मा ‘टेक अर पे’ प्रावधान राखी ५ अर्ब रुपैयाँ घोटाला गर्न लागिएको आरोप लगाएका थिए।
बस्नेतले प्रतिमेगावाट १० लाख रुपैयाँ कमिसन उठाउने र चुनावी खर्च जोहो गरेर कुलमानले राजीनामा दिने योजना बनाएको दाबी गरेका थिए।
बस्नेतको सोही दाबीलाई शिक्षामन्त्री पुनले आधारहीन र हास्यास्पद भन्दै सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन्।
यो पनि पढ्नुहोस्
महेशको आरोप- कुलमान र रामेश्वरबीच ५ अर्बको ‘सेटिङ’ छ, प्राधिकरण टाट पल्टिन्छ
प्रकाशित: १६ मंसिर २०८२ १०:०७ मंगलबार





