१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

योग र ध्यानलाई विद्यालयमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न शिक्षामन्त्रीको निर्देशन

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

दोस्रो विश्व ध्यान दिवसका अवसरमा आज टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मूल समारोह समितिको आयोजनामा भएको समारोहमा योग प्रशिक्षकहरूले प्रवचनका साथै अभ्याससमेत गराएका थिए।

मूल समारोह समितिका संयोजक एवं शिक्षामन्त्री महावीर पुनले योग र ध्यानलाई विद्यालयमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न निर्देशन दिएको जानकारी गराए।  उनले योग र ध्यानलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सकिने भएकाले यसलाई प्राथमिकता दिन आग्रह गरे।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रूपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घसंस्थालाई सहकार्यमा आउन आग्रह गरिन्। 

ओशो तपोवनका आनन्द अरूणले नेपाललाई ध्यान केन्द्र बनाउन सकिने बताउँदै आर्थिक रूपमा सम्पन्न मुलुकमा पनि मानसिक सन्ताप हुने गरेको जानकारी दिए।  

कार्यक्रममा ‘आर्ट अफ लिभिङ नेपाल’ का प्रशिक्षक डा कञ्चन घिमिरे, ब्रम्हकुमारी ध्यान केन्द्रका प्रशिक्षक रामसिंह ऐरले ध्यान अभ्यास गराएका थिए। 

गत वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो। यो वर्ष ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ।

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ६ पुस २०८२ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App