नागरिक बचाउ दल नेपालका सभापति माधव खतिवडा (माधव कल्पित)ले सबै दल विपक्षमा भए पनि आगामी चुनावमा आफूहरू नै पल्लाभारी हुने बताएका छन् ।
निर्वाचन आयोगमा दल दर्तापछि सनाखत गर्नेक्रममा कल्पितले भने, ‘सबै दललाई अर्कोतिर राखेर हामी निर्वाचनमा जाँदैछौँ । हाम्रो दल नै पल्लाभारी हुनेछ । किनकि हामीसँग गरिबका मुद्दा छन् । हामीसँग स्वास्थ्य, शिक्षा र रोजगारसँग सम्बन्धित जनताका मुद्दा छन् । त्यसैले सबै दल एकातिर र हामी अर्को तिर हुँदा हामी नै पल्लाभारी हुनेछौँ ।’
उनले नागरिकका मुद्दा आफ्नो दलले नै अघि सारेको दावी गर्दै जनताको प्यारो दल नागरिक बचाउ दल हुने बताए । उनले भने, ‘हामी नागरिकका मुद्दा र जनताका मुद्दा लिएर आएका छौँ । धर्म, संस्कार र संस्कृतिका मुद्दालाई लिएर चुनावमा जाँदैछौँ ।’
उनले आफ्नो दल व्यापार गर्न नभइ सेवा र समर्पण भावले राजनीतिमा होमिएको बताए । भने, ‘राजनीतिलाई अरु पार्टीले जस्तो व्यापार सम्झेको छैनौँ । हामी राजनीतिमा सेवा र समर्पण भावले आएका हौँ ।’
प्रकाशित: ३० कार्तिक २०८२ १५:३५ आइतबार





