१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी)बीच आन्दोलनमा सहकार्य गर्ने सहमति

फाइल तस्बिर

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार बिहान भक्तपुरको मध्यपुर ठिमीस्थित प्रसाईंको निवासमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान शेरचनका अनुसार, सहकार्यको प्रस्ताव दुर्गा प्रसाईं पक्षबाट आएको थियो। ‘हामीले २०८३ सालदेखि आन्दोलनको तयारी गरिरहेका थियौं,’उनले भने, ‘तर दुर्गा प्रसाईंले मंसिर ६ गतेदेखि सुरु गर्न लागिएको आन्दोलनमै सहकार्य गर्ने प्रस्ताव गर्नुभयो, र हामी त्यसमा सहमत भयौं।’

सहमति पत्रमा राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने उल्लेख गरिएको छ। सहमति अनुसार मंसिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित अभियानमा सहभागी हुने स्वतन्त्रता दिइनेछ। साथै, आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने पनि सहमति गरिएको छ।

दुवै पक्षले नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेका आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवादस्वरूप जनजागरण र साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने बताएका छन्।

प्रकाशित: १६ कार्तिक २०८२ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App