१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली र लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता हो: दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ सामान्य विषय भएको बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेताहरूको पक्राउभन्दा पनि देशको अस्तित्व जोगिने वा नजोगिने भन्ने विषय अहिलेको प्रमुख चासोको विषय भएको बताए।

संयोजक प्रसाईंले देश नै गम्भीर संकटमा परेको दाबी गरे। ‘केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो,’ उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री वा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गर्नुले खासै अर्थ नराख्ने उनको भनाइ छ।

देशमा नियोजित रूपमा अस्थिरता र द्वन्द्व निम्त्याउने प्रयास भएको भन्दै उनले वास्तविक अपराधीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

भदाैं २३ र २४ गतेका घटनामा संलग्न मुख्य योजनाकार र अपराधीहरूलाई तत्काल पक्राउ गर्नुपर्नेमा उनले जोड दिएका छन्।

बन्द कोठामा बसेर षड्यन्त्रको डिजाइन गर्ने, मानिसहरूलाई सडकमा उतार्ने र स्कुले बालबालिकालाई विद्यालय पोशाकमै मर्नका लागि सडकमा आउन उक्साउने डिजाइनरहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

यसैगरी, प्रसाईंले जेनजी घटनाको छानबिन गर्न गठित आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीमाथि पनि आरोप लगाए। कार्की आफैं समाजमा विद्वेष र द्वन्द्व फैलाउने कार्यमा संलग्न रहेको उनले दाबी गरेका छन्।

‘आगो लगाउनुपर्छ, सक्नुपर्छ, मार्नुपर्छ भनेर उक्साउने काममा गौरीबहादुर कार्की आफैं संलग्न छन्,’ प्रसाईंले भनेका छन्।

प्रकाशित: १४ चैत्र २०८२ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App