नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए। उनले पार्टीलाई दूरदराजका नागरिकसम्म पुर्याउँदै सामान्य नागरिकका समस्या र आवश्यकता राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए।
‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रुपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु,’ शर्माले भनेका छन्।
लोकतन्त्र पुनर्स्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लविङ’ गरेको स्मरण गर्दै शर्माले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरवासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं,’ उनले भने, ‘अहिले बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दूरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र दुई छाक खानाका निम्ति सङ्घर्ष गरिरहेका तथा सामान्य रोगको उपचार गर्नबाट वञ्चित भइरहेका नागरिकका पक्षमा अनवरत रूपमा काम गर्दै आएका छौँ।’
प्रकाशित: १७ आश्विन २०८३ १२:४२ शनिबार





