१७ आश्विन २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

जापानीज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) पुष्टि भएको हो।

जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको छ। अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ।

सरकारले प्रभावित जिल्लामा जेईविरुद्धको खोप अभियान जारी राखेको छ। हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। अभियानको लक्षित समूह ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मी रहेका छन्।

कैलालीमा हालसम्म एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन्। सरकारले नियमित खोपअन्तर्गत १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ भने छुटेको भए पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट समेत जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।

प्रकाशित: १७ आश्विन २०८३ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App