नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । दलहरू चुनावका लागि तयार भए पनि सरकार नै चुनाव गराउने पक्षमा छैन कि भन्ने डा कोइरालाको आशंका छ ।
जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नभएको, भागेका कैदी पक्राउ नपरेको र ठूला दलका नेतालाई स्थानहद तोकेका कारण सरकार नै चुनाव गराउने पक्षमा नदेखिएको डा कोइरालाको भनाई छ ।
उनले भने ‘ठूलो दलको नेतालाई भ्याली नछाड्ने गरी स्थानहद तोकेर कस्तो चुनाव गराउन खोजिंदैछ ?’ कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको तर, सरकार नै चुनाव गराउन इच्छुक छ कि छैन भन्ने आशंका बढेको बताए ।
लुटिएका हतियार र फरार भएका कैदी पक्राउ नगरेसम्म सुरक्षाको वातावरण तयार नहुने उनले स्पष्ट पारे । ‘चुनाव गराउन सरकार नै इच्छुक छ की छैन भन्ने चिन्ता लाग्न थालेको छ’ डा कोइरालाले भने । तोकिएको मितिमा निर्वाचन नभए संसद पुनः स्थापनाको प्रक्रिया अघि बढ्ने उनले स्पष्ट पारे ।
प्रकाशित: २ पुस २०८२ १९:३७ बुधबार





