नेकपा (एमाले)का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमा नरहेको बताएका छन्।
सुरक्षा निकायबाट खोसिएका हतियार, भागेगा अपराधीहरू खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उनले प्रश्न समेत गरेका छन्। प्रेस चौतारीले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उनले अहिलेको सरकार नै असंवैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाको अपेक्षा पनि गर्न नसकिने भनाइ राखे।
निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका नेता दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानुनी आधार नरहेको उल्लेख गरे।
अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंवैधानिक रहेकाले एमाले संसद् पुनःस्थापनको मागसहित जनताको बीचमा गएको दहालले बताए।
अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापनाबाट नै हुने समेत उनको भनाइ छ। यो विषयमा नेपाली कांग्रेसको अहिलेसम्मको मौनता समेत आश्चर्यजनक रहेको उल्लेख गर्दै दाहालले कांग्रेस पनि यो अजेण्डामा आउँदै गरेको उनले जिकिर गरे।
जेन्जीले अघि सारेका माग समेत संसद् पुनःस्थापनापछि गठन हुने सरकारले नै पूरा गर्ने उनको दाबी छ। ओली नेतृत्वको सरकारले समेत सुशासनको पक्षमा दर्बिलो गरी काम गरिरहेको अवस्थामा जेन्जी आन्दोलनमा घुसपैठ गरी हिंसाको माध्यमबाट विस्थापन गरिएको भन्दै सो क्रममा भएका आगजनी, हिंसा र तोडफोडमा संलग्नहरूको खोजी गरी कानुनी दायरामा ल्याउन ढिला गर्न नहुनेमा उनले जोड दिए।
सो भेटमा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले संसद् पुनःस्थापनको पक्षमा जिल्लामा सशक्त रूपमा जनपरिचालन भइरहेको जानकारी दिए। प्रदेशसभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ अध्यक्ष लिला दाहाल लगायतको आतिथ्यता रहेको थियो।
प्रकाशित: २४ कार्तिक २०८२ १३:४५ सोमबार





