२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ३:३३ पूर्वाह्न
राजनीति

नाउपाभित्रको विवाद उकालियो, रेशमले जनप्रतिनिधिसँग पैसा उठाउने गरेको रञ्जिताको आरोप

पछिल्लो संसदीय निर्वाचनमा अनपेक्षित रूपमा राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद थप उकालिएको छ। मुख्यत: अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद बढ्दै जाँदा पार्टी नै लथालिङ्ग अवस्थामा आइपुगेको छ।

यसको पछिल्लो कडी संसदीय दलका नेता गंगाराम चौधरीमाथिको कारबाही हो। दलका नेता गंगारामलाई शुक्रबार (आज) मात्रै अध्यक्ष रञ्जिताले कारबाही गरेकी छन्। संसदीय दलको नेताको भूमिकामा रहँदा पनि केन्द्रीय कमिटीको बैठक बोलाएको, निर्वाचन आयोगले खारेज गरिसकेको पार्टीको महासचिव पदमा आफूलाई दाबी गरेको, पार्टीको लेडरप्याड र छापको दुरुपयोग गरेको, पदाधिकारी रहेको व्यक्तिलाई बैठकहरूमा सहभागी गराएको, सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारण देखाउँदै अध्यक्ष रञ्जिताले दलका नेता गंगारामलाई कारबाही गरेकी छन्।

संरक्षक रेशमको कित्तामा उभिँदै आएका दलका नेता गंगारामलाई कारबही गरेसँगै अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीचको विवाद झन् बढेको छ। उनीहरूबीचको विवाद नयाँ भने होइन, २०८० को फागुनबाटै उनीहरूबीच विवाद छ। खासगरी पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाट सुरु भएको उनीहरूबीचको विवादले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीले पाइसकेको मुख्यमन्त्रीसमेत गुमेको थियो।

रञ्जितालाई आधिकारिकता दिने निर्वाचन आयोगको पत्र।

यहाँसम्म आइपुग्दा त उनीहरूबीच बोलीचालीसमेत बन्द भएको छ। पछिल्लो तीन हप्तायता उनीहरूबीच बोल्ती बन्द छ। यसअघि गत साउन १५ गते मात्रै संरक्षक रेशमले प्रमुख सचेतकसमेत रहेका बुवा लालवीर चौधरीलाई पार्टी अध्यक्ष बनाए। काठमाडौंमा भेला बोलाएर उनले पार्टी अध्यक्ष लालवीरलाई बनाएर अद्यावधिकका लागि निर्वाचन आयोगलाई पठाए तर, आयोगले मानेन। आयोगले पार्टी अध्यक्षमा पुन: रञ्जिताको नाम पठायो। साउन २८ गते निर्वाचन आयोगले पार्टी अध्यक्ष रञ्जिता नै रहेको पत्र पठाएको थियो। 

आफूले पार्टी अध्यक्षको आधिकारिकता पुन: प्राप्त गरेपछि रञ्जिताले आज मात्रै दलका नेता गंगारामलाई कारबाही गरे। रेशमको सल्लाहअनुसार चल्ने गरेको दलका नेता गंगारामलाई कारबाही गरेर रञ्जिताले रेशमलाई धेरै नचल्न नचट्पटाउन सन्देश दिएकी छन्। ‘कारबाहीको डन्डा चलाउने हो भने मैले सबैमाथि चलाउन सक्छु तर, जनताको विश्वासमा उठेको पार्टीमा किन त्यसो गर्नु भनेर मैले सहेरै बसेको छु तर, अब यस्ता धेरै कुराहरू बाहिर आउनुपर्छ,’ रञ्जिताले नागरिकसँग भनिन्।

नयाँ खाता खडा गरेर लालवीर चौधरीले त्यहाँ पैसा जम्मा गर्न जनप्रतिनिधिलाई पठाइएको पत्र र गंगाराम चौधरीले महासचिव भएर बोलाएको बैठकको पत्र।

पार्टीभित्रका सबै नाजायज काम रेशमकै निर्देशनबमोजिम भइरहेको आरोपसमेत रञ्जिताको छ। लालवीरलाई पार्टी अध्यक्ष बनाएर पार्टीका जनप्रतिनिधिहरूसँग पैसा असुल्ने गरेको गम्भीर आरोपसमेत उनले रेशमलाई लगाइन्। टीकालक्ष्मी चौधरी नाम गरेको एक महिलालाई पार्टीको कोषाध्यक्ष भनेर उनको खातामा पार्टीका जनप्रतिनिधिहरूबाट पैसा जम्मा गर्ने गरेको रञ्जिताले आरोप छ।

‘पार्टीले कर तिर्नुपर्छ भनेर उहाँ (रेशम) ले पार्टीका जनप्रतिनिधिहरूसँग पैसा उठाउनुभएको छ,’ उनले भनिन्, ‘पार्टीको खाता एभरेष्ट बैंकमा छ। तर, पैसा त्यसमा जम्मा भएको छैन। र, जसलाई पार्टीको कोषाध्यक्ष भनिएको छ टीकालक्ष्मी चौधरी बहिनी। उनी पार्टीको कोषाध्यक्ष होइनन्।’

सुरुमा पार्टीको खाता रहेको एभरेष्ट बैंकको चेक र लालवीर चौधरी अध्यक्ष बनेपछि खडा गरिएको राष्ट्रिय वाणिज्य बैंकको खाता।

अध्यक्ष रञ्जिताका अनुसार पार्टीले पहिल्यैदेखि चलाइरहेको खाता एभरेष्ट बैंकमा छ तर, लालवीर अध्यक्ष बनेपछि वाणिज्य बैंकमा नयाँ खाता सञ्चालनमा ल्याएर रकम त्यही खातामा जम्मा गर्नका लागि जनप्रतिनिधिहरूलाई पत्राचार गरिएको छ। यी कामहरू सबै संरक्षक रेशमको सल्लाह र निर्देशनअनुसार हुँदै आएको आरोप अध्यक्ष रञ्जिताको छ। रेशमले पार्टीको संरक्षण कहिल्यै नगरेको पनि रञ्जिताको भनाइ छ। ‘म सुरुदेखि नै पार्टी बनाउनुपर्छ, एकजुट भएर जानुपर्ने भन्नेमा छु तर, उहाँले कहिल्यै त्यसरी काम गर्नुभएन। संरक्षक भन्नु मात्रै, संरक्षणको काम कहिल्यै गर्नुभएन। यत्रो झन्डै तीन लाख जनताले रोजेको पार्टी हो तर, केही भएन,’ उनले भनिन्।

त्यसो त पछिल्लो संसदीय निर्वाचनका बेलामा पार्टीलाई प्राप्त सहयोग रकम पनि रेशमले भाइ मीठूलाल चौधरीको खातामा जम्मा गरेको रञ्जिताको दाबी छ। रञ्जिताको दाबीअनुरूप नै २०७९ मंसिर १ गते मीठूलालको नाममा पाँच लाख रुपैयाँ जम्मा भएको एउटा चेक प्राप्त छ। बाहिर ल्याउनका लागि यस्ता धेरै कुराहरू रहेको रञ्जिता बताउँछिन्। अब धेरै सहेर बस्न नसकिने भनाइ उनको छ।

चुनावका बेला रेशमले भाइ मीठूलालको नाममा जम्मा भएको रकमको चेक।

रञ्जिताको आरोपलगायतका विषयमा जिज्ञासा राख्न फोन गर्दा रेशमले रेस्पोन्स गरेनन्। उनलाई पटक-पटक फोन गर्दा सुरुमा रेस्पोन्स भएन, पछि फोन नै अफ भयो। दलका नेता गंगारामले पनि पटक पटक फोन गर्दासमेत उठाएनन्।

मझधारमा नाउपा, अब के होला ?

पार्टीको वर्तमान अवस्थाबारे संस्थापक केन्द्रीय सदस्य तथा प्रवक्ता दामोदर पण्डितको सटिक टिप्पणी छ- आज नाउपा नामको  पार्टीको डुङ्गा नदीको  मझधारमा छ, न बोटे छ, न डुङ्गाका बहना छन्। छन् त केवल त्यसमाथि सवार यात्रु। डुब्छ या किनारा लाग्छ, थाहै  छैन।

कमसेकम अहिलेका लागि नाउपा बुझ्न पण्डितकै सटिक टिप्पणी काफी छ। थरुहट आन्दोलनका मुद्दाहरू बोक्ने र तराई-मधेसका थारु समुदायलाई समृद्धसम्म पुर्‍याउने उद्घोष गर्दै उदाएको नाउपा अहिले मझधारमा पुगेको छ। पण्डितले थपेका छन्, ‘नाउपा धेरै ठूलो सम्भावना  बोकेको पार्टी थियो। यो देशको, यो पार्टी सशक्त वैकल्पिक शक्ति बन्थ्यो। तर, यस्तो किन भयो ?’

रेशम र रञ्जिता।

यो अवस्थामा फसेको पार्टीलाई कसरी अगाडि बढ्छ हेर्न बाँकी छ। यही प्रश्न नागरिकले अध्यक्ष रञ्जितालाई सोधेको थियो। जवाफमा उनले आफू सधैँ पार्टीलाई एकीकृत, सन्तुलित र जनआवाजअनुसार सञ्चालन गर्न तयार रहेको तर, अरुले साथ नदिएको बताइन्।

रेशमतर्फ लक्षित गर्दै उनले भनिन्, ‘म सुरुदेखि नै जनआवाजअनुसार पार्टी सञ्चालन गरौँ भन्दै आएको छु र मैले पार्टीको हितविपरीत केही गरेको छैन। तर, केही साथीहरूले साथ दिएनन्। अब कसरी जाने भन्नेबारे छलफल गरेर जाने हो।’ उनले आफू पार्टीलाई पुन: बलियो बनाएर लानका लागि तयार रहेको बताइन्।

प्रकाशित: ३० श्रावण २०८२ २१:४३ शुक्रबार