प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको बताएकी छन्।
बुधबार जेनजी र राजनीतिक दलबीचको छलफलपछि सामाजिक सञ्जालमार्फत कार्कीले यस्तो बताएकी हुन्। उनले देशका चुनौतीहरू सबैका साझा भएको बताउँदै त्यसैले समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुने बताइन्।
'आज सरकार, राजनीतिक दलहरू र जेनजी प्रतिनिधिहरूबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ। देशका चुनौतीहरू हामी सबैका साझा हुन्, त्यसैले समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुन्छ,' उनले लेखेकी छन्।
कार्कीले संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भएको दाबी गरिन्। यस्तै नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु रहेको उनको भनाइ छ। उनले भनिन्, 'हामी संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भएका छौं। नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य एउटै छ– निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु।'
सोही क्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता सबैको साझा प्रतिबद्धता रहेको भन्दै उनले यही आधारमा स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्ने उल्लेख गरिन्। 'भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता प्रति हाम्रो साझा प्रतिबद्धता हो। यही आधारमा हामी स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौं,' प्रधानमन्त्री कार्कीले लेखेकी छन्।
प्रकाशित: १३ कार्तिक २०८२ ०७:०६ बिहीबार





