राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी नेतृत्वको एकल निर्णय, प्रजातान्त्रिक मूल्यको ह्रास र आन्तरिक असन्तुलनप्रति गम्भीर आपत्ति जनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनलाई औपचारिक पत्र बुझाएका छन्।
आज अध्यक्षलाई बुझाइएको पत्रमा राणाले राप्रपा ‘संविधानसँग सहकार्य गर्ने पूर्ववत् रणनीतिमा अडिएर बदलिँदो राजनीतिक परिस्थितिसँग तालमेल राख्न असफल भएको’ र ‘राजसंस्था पुनर्स्थापनाको मुद्दा प्रभावकारी रूपमा उठाउन नेतृत्वले चासो नदेखाएको’ आरोप लगाएका छन्।
पत्रमा राणाले लेखेका छन्, ‘संसद विघटनपछि सबै दललाई समान अवसर उपलब्ध भए पनि राप्रपाले राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि सशक्त पहल नगरेको’ कारणले पार्टीको विश्वसनीयता प्रश्नमा परेको छ।
२०८० चैतमा काठमाडौंमा सुरु भएको विरोध कार्यक्रमलाई नेतृत्वले ‘हठात अन्त्य गरेपछि कार्यकर्ता निराश बनेको’ र पछिल्ला राजसंस्था समर्थक आन्दोलनहरू पनि नेतृत्वकै कारण ‘तुहिएका’ उल्लेख गर्दै उनले पार्टीभित्र असंगत निर्णय र अवसर गुमाउने प्रवृत्तिलाई सच्याउन आग्रह गरेका छन्।
संविधान संशोधन र पुनर्लेखनबिना निर्वाचन मात्रले देशको समस्या समाधान गर्न नसक्ने भन्दै उनले जेनजी आन्दोलनको भावना सम्बोधन गर्ने माग गरेका छन्। उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्तावलाई ‘अविवेकी र देशको भूराजनीतिक संवेदनशीलतालाई बेवास्ता गर्ने’ भनेका छन्।
पत्रमा राणाले पार्टीभित्र ‘एक व्यक्तिमा निर्णय केन्द्रित भएको’, ‘विधानविपरीत नेता–कार्यकर्तामाथि स्वेच्छाचारी कारवाही भइरहेको’ र ‘आलोचनात्मक आवाजलाई दबाउने प्रवृत्ति मौलाएको’ आरोप लगाएका छन्।
उनले उपाध्यक्ष मुकुन्दश्याम गिरी लगायतका नेताहरूमाथि पार्टीको निर्णयविना कारवाही गरिएको, जुम्ला र उदयपुरमा अधिवेशन अवरुद्ध बनाइएको र विधानविपरीत कार्य भइरहेका उदाहरणहरू प्रस्तुत गरेका छन्।
राणाले तत्काल सुधारका लागि चार बुँदे कार्यसूची पनि अघि सारेका छन्:
१. निर्धारित समयमा महाधिवेशनको मिति तोक्ने,
२. विधानविपरीत भएका निलम्बन, निष्कासन र कारवाही फिर्ता गर्ने,
३. निष्पक्ष महाधिवेशनका लागि सन्तुलित निर्वाचन समिति र पर्यवेक्षक टोली गठन गर्ने,
४. दुई पूर्वअध्यक्षसहित विवाद समाधान समिति गठन गर्ने।
‘हामी कुनै व्यक्तिको भजनमण्डली होइनौं,’ राणाले पत्रमा लेखेका छन्, ‘पार्टीको गौरव, मूल विचार र भविष्य रक्षाका लागि अघि सरेका सचेत र समर्पित कार्यकर्ता हौं।’
राणाले पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्दै आन्तरिक प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउन पत्रलाई ‘सुधारको अवसरका रूपमा लिन’ आग्रह गरेका छन्।


प्रकाशित: २० कार्तिक २०८२ १६:१७ बिहीबार





