गण्डकी सरकारमा नेकपा एमाले आउट भएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का फडिन्द्र देवकोटा इन भएका छन्।
केन्द्रमा समीकरण फेरबदल भएसँगै गण्डकी सरकारबाट एमाले आउट भएपछि सरकार छाडेर बसेका देवकोटा बुधबार सरकारमा इन भएका हुन्।
संघमा एमाले र नेकपाबिच समीकरण बनेर ५ वटा प्रदेशमा सरकार बनिसक्दा पनि गण्डकीमा एमाले सत्तामा टाँसिएर बसेको आरोप लागेपछि गत हप्ता एमालेले सरकार छाडेको थियो।
एमालेले सत्ता छाडेको एक हप्ता नपुग्दै देवकोटा पुरानै मन्त्रालय लिएर सरकारमा गएका हुन्।
जेनजी आन्दोलनमा निर्मम दमन भएको भन्दै नैतिकताका आधारमा तत्कालीन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीबाट राजीनामा दिएका देवकोटा बुधबार मन्त्रीमा नियुक्त भए। राजीनामा दिएको एक वर्ष पुग्न एक हप्ता बाँकी रहँदा उनी मन्त्री पदमा फर्किएका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार बिहान देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन्। लगत्तै ११ः३० शपथ लिएका उनले जिम्मेवारी सम्हालेका छन्। उनलाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सरकारबाट एमालेको बहिर्गमनसँगै देवकोटाको सरकारमा प्रवेश भएको हो। देवकोटाले पाएको मन्त्रालय एमालेले सम्हाल्दै आएको थियो। एमालेले गत हप्ता सरकार छाडेपछि यो मन्त्रालय कांग्रेसका नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएका थिए।
तर अब देवकोटाको प्रवेशसँगै न्यौपानेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय छाडेर भौतिक तथा पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
जेनजी आन्दोलनमा दमन भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका देवकोटा पुनः मन्त्री भएर सरकारमा फर्किनुलाई आश्चर्यका रूपमा हेरिएको छ।
तत्कालीन मुख्यमन्त्री नै अहिलेको मुख्यमन्त्री रहिरहँदा सोही मन्त्रालयको जिम्मेवारी लिएर फर्किदा उनी आफैमाथि नैतिकताको प्रश्न उब्जिएको छ। तर उनको प्रवेश भएसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार बलियो बनेको छ।
गण्डकीमा पाण्डे सरकारलाई राप्रपाको पनि साथ छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे निलम्बनमा रहेकाले ५९ सदस्यीय कायम छ। कांग्रेसको २७ भएकाले राप्रपाको दुई र नेसपाका देवकोटाको साथ रहेकाले पाण्डे सरकारको बहुमत कायम छ।
गण्डकीमा गोरखा हाबी : मुख्यमन्त्रीसहित तीन मन्त्री र सभामुख पनि गोरखाकै
गण्डकीमा गोरखा हाबी भएको छ। प्रदेशको राजधानी कास्की भए पनि गण्डकीको सरकार र प्रदेश सभा अर्थात् कार्यपालिका र विधायीका दुबैमा गोरखा हाबी भएको हो।
गण्डकी प्रदेशको ६ सदस्यीय मन्त्री मण्डलमा मुख्यमन्त्रीसहित ३ मन्त्री गोरखाका छन्। गोरखाबाट सुरेन्द्रराज पाण्डे, नन्दप्रसाद न्यौपाने र फडिन्द्र देवकोटा मन्त्री रहेका हुन्। गोरखा २ को (२)बाट निर्वाचित पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्।
पाण्डे नेतृत्वको अन्य दुई प्रभावशाली मन्त्रालय लिएर न्यौपाने र देवकोटा पनि सरकारमै छन्। गोरखा १ को (२)बाट निर्वाचित न्यौपाने भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री र गोरखा २ को (१)बाट निर्वाचित देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी छन्। यी दुवै मन्त्रालय मालदार मन्त्रालय हुन्।
यसबाहेक गण्डकी प्रदेश सभाको सभामुखमा पनि गोरखाकै कृष्णप्रसाद धिताल छन्। गोरखा १ को (१)बाट निर्वाचित उनी गण्डकीका सभामुख हुन्।
गण्डकीमा गोरखा हाबी हुँदा प्रदेशको राजधानी कास्कीसहित तनहुँ, म्याग्दी, मनाङ, नवलपुर, लमजुङ र स्याङ्जा जिल्ला मन्त्रीविहीन छन्।
प्रकाशित: १७ भाद्र २०८३ १८:५४ बुधबार





