नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रूपमा स्थापित गरिरहेको देउवाले बताए।
‘जेन–जी’ आन्दोलनका क्रममा सांघातिक हमलामा परी घाइते भएका देउवा मंगलबार पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्। आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो।
बैठकमा सभापति देउवाले लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पु¥याउन कांग्रेस सफल भएको बताए।
‘अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु’ , सभापति देउवाले भने, ‘त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नुपर्दछ।’
मुलुकको यो विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको उल्लेख गर्दै उनले यसले पक्कै पनि सबैलाई स्तव्ध बनाएको उल्लेख गरे। उनले भने, ‘म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु। दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
‘घुसपैठले अर्कै रूप लिँदा निर्दोष नवयुवकको ज्यान गयो’
गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गएको बताउँदै सभापति देउवाले यस घटनाले आफूलाई मर्माहित बनाएको उल्लेख गरे। भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयलगायत राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको अकल्पनीय घटनाको निन्दा गरे।
यसबाट जनधनको अपूरणीय क्षति भएको र सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनका रुपमा लिपिबद्ध हुने उनको भनाई थियो।
केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कांग्रेस पार्टी कार्यालय र करिब एक सय २५ जना नेता साथीहरुको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको सभापति देउवाले जानकारी गराए। नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थानका रुपमा परिचित विराटनगरस्थित कोइराला निवास, काठमाडाँै चाक्सीबारीस्थित गणेशमानसिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत बनाएको उनले बताए।
जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको बताउँदै उनले यी दुबै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।
‘राष्ट्रपतिको भूमिकाले अर्को संकट रोकियो’
सभापति देउवाले गत भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नुभएकामा राष्ट्रपति रामचन्द्र पौडेललाई बैठकमार्फत धन्यवाद दिए। त्यो प्रतिकूल समयमा उनको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट टरेको देउवाले उल्लेख गरे।
जेन–जी पुस्ताले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने देउवाको धारणा थियो । जेन–जी पुस्ताको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्ने र यस विषयमा पनि कांग्रेसको बैठकमा छलफल हुने सभापति देउवाले जानकारी दिए।
यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेका सभापति देउवाले बताए। यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने र यो अनुसन्धान कसैलाई तत्कालीन नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए। देशमा सबै महत्वपूर्ण अंगको मनोबल गिरेको अवस्थामा देशका सबै अंग वा निकायको मनोवल उच्च राख्ने गरी काम गर्नुपर्ने र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोवल साथ काम गर्न आह्वान गरे।
सभापति देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताए। उनले कांग्रेसको एकता आजको आवश्यकता भएको बताउँदै देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्राबीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर एकतावद्ध हुनुपर्ने बताए।
उनले अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण भएको बताउँदै पार्टीका सबै साथीहरुलाई विषयवस्तुमा व्यापक छलफल गर्न, एकमतका साथ निर्णयमा पुग्न र ठोस् ढङ्गले निर्णयको कार्यान्वयन गर्न आग्रह गरे।
‘पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु’
सभापति देउवाले पार्टी नेतृत्वको पनि विधिवत् रूपमै हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्,’ उनले भने, ‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकै जना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैनन्। जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।’ आगामी १५औँ महाधिवेशनबाट आफूबाहेक अरु कुनै साथी सभापति बन्ने र त्यसमा द्विविधा नभएको उनले स्पष्ट पारे।
उनले देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकतावद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए
संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको उल्लेख गर्दै सभापति देउवाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए।
‘निर्वाचनका लागि आवश्यक वातावरण बनाउनुपर्छ’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको बताउँदै सभापति देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार हुनुपर्नेमा जोड दिए।
‘निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्ने र शान्तिपूर्ण निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्तरुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो’, उनले भने। यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उनले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास व्यक्त गरे।
बहुदलीय लोकतान्त्रिक व्यवस्थाकावाहक राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उल्लेख गर्दै उनले यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्नुपर्ने आवश्यकता आँैल्याए।
मुलुकमा संकट आएका बेला त्यसको निकास पनि कांग्रेसले दिनेगरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढ्न उनले आग्रह गरे।
आफू किशोर अवस्थादेखि नै राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि अनवरतरुपमा सङघर्षरत रहेको उल्लेख गर्दै उनले भने, ‘म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन। धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ। सांसद, मन्त्री, प्रधानमन्त्री वा कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र।’
देशमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको उल्लेख गर्दै सभापति देउवाले आफूले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको बताए। देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै उनले अझै पनि देश र जनताका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
‘मुलुक र जनताका पक्षमा गरेका कामप्रति वर्ग छ’
‘मैले कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिंग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने प्रयास गरेँ, चाहे पार्टीभित्र ‘कदमजम’को नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम् समावेशी बनाउने अभियान नै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु’, सभापति देउवाले भने।
उनले आफूले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएको र पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय रहेको स्पष्ट पारे। त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको बताउँदै उनले त्यसका बावजुद पनि कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको अवगत गराए।
‘सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुतमुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाई गर्व महसुस हुन्छ’, देउवाले भने, ‘नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ । नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ। यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो।’ सभापति देउवाले आफू प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरेको बताए।
‘प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो’
सभापति देउवाले गत भदौ २४ गते सिङ्गो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरिएको र घरमा तोडफोड, लुटपाट र आगजनी भएको, सुरक्षाकर्मीको अथक प्रयासपछि उद्धार गरिएको बताए। उनले आफू र आफ्नो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपरेको र त्यतिले नपुगेर कृतिम बौद्धिकता प्रविधिका माध्यमले आफूहरुको प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको भनी दुःख व्यक्त गरे।
‘मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ’, उनले भने, ‘यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।’
सभापति देउवाले आक्रमणकारीहरुको कब्जाबाट आफूलाई बचाउने घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै उहाँहरूको भूमिका जीवनभर स्मरण गरिरहने उल्लेख गरे। सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको बताए।
यसलाई ध्यानमा राखी आफ्नो पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ थियो । देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरुसँग पनि वार्ता, संवाद गर्ने उनले बताए।
खड्का कार्यवाहक सभापति
देउवाले आफ्नो स्वास्थ्यका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको घोषणा गरे। साथै उनले पार्टीको बृहत्तर हितमा काम गर्नुहुने विश्वास पनि व्यक्त गरे।
प्रकाशित: २८ आश्विन २०८२ १८:३६ मंगलबार





