३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

पक्राउ पुर्जीपछि देउवाको प्रस्टीकरण- सम्पत्तिबारे भ्रामक प्रचार गरियो, मेरो जीवन खुला किताब हो

सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि भ्रामक तथा झुटो प्रचारबाजी भएको दाबी गरेका छन्।

स्वास्थ्य उपचारका सिलसिलामा पत्नीसहित हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मंगलबार साँझ अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

गत भदौ २४ गते जनेजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। आगलागीका क्रममा जलेको अवस्थामा नगद भेटिएको भिडिओहरू सार्वजनिक भएका थिए। त्यसलगत्तै उनीहरूमाथि सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दै आएको थियो।

आफूविरुद्ध अनुसन्धान सुरु भएको र पक्राउ पुर्जी जारी भएको खबर सञ्चारमाध्यमबाट मात्र थाहा पाएको देउवाले बताएका छन्। सार्वजनिक पदमा रहँदा नेपालको कानुनअनुसार आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा नियमित रूपमा पेस गरेको उनले बताएका छन्।

उनले भनेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु। मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ।’

लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको देउवाले सुनाए। उनले विगतमा आफूले ल्याएका भ्रष्टाचारविरोधी कानुनहरूको स्मरण गराए।

‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानतन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,’ उनको भनाइ छ।

वास्तविकता समयक्रमसँगै खुल्दै जाने बताउँदै उनले अतिरञ्जित रूपमा सार्वजनिक भएका विवरणहरूको भ्रममा नपर्न आम नागरिकलाई अपिल समेत गरे।

प्रकाशित: २५ चैत्र २०८२ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App