२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

शनिबार काठमाडौंको १५औं अधिवेशनबाट बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भनी प्रश्न गरेपछि देउवा जंगिएका हुन्।

आफ्नो पक्षले राष्ट्रिय सभागृहमा आयोजना गरेको समानान्तर अधिवेशन सम्बोधन गरेर निस्किँदै गर्दा पत्रकारहरूले उनलाई कांग्रेसको आधिकारिक नेतृत्व र पछिल्लो राजनीतिक विवादबारे घेरेका थिए। त्यस क्रममा एक पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा हो खासमा ?’ भनेर सोधेका थिए।

प्रश्न भुइँमा खस्न नपाउँदै देउवाले आक्रोशित शैलीमा औंलो ठड्याउँदै भने, ‘त्यहाँ बोलिसकेँ मैले ! त्यहाँ बोलिसकेँ त ! ए भाइ, त्यहाँ बोलेको सुन्नुभएन तपाईंले ?’

पत्रकारले ‘सुनेका थियौं तर खास कुरा के हो ?’ भन्दै फेरि प्रश्न दोहोर्‍याएपछि उनले थप कड्किँदै भने, ‘त्यही हो ! मैले बोलिसकेको छु।’

यस्तै, बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सामाजिक सञ्जालमा चर्चामा रहेको १८ करोड प्रकरण र सरकारले कारबाही गर्नुपर्ने हो कि होइन भनी सोधेको प्रश्नमा पनि देउवाले स्पष्ट जवाफ दिएनन्। उनले ‘नेपाल सरकारलाई सोध्नुस् न’ भन्दै पन्छाएका थिए।

देउवाले कार्यक्रमको मञ्चबाटै पार्टीभित्र १८ करोडको आर्थिक चलखेल भएको भन्दै असन्तुष्टि पोखेका थिए। तर, कार्यक्रमस्थलबाट बाहिरिएर गाडी चढ्दासम्म पनि पत्रकारहरूले नेतृत्व र विवादबारे लगातार प्रश्न गरिरहेपछि उनी झोक्किँदै गाडी चढेर बाहिरिएका हुन्।

 

यो पनि पढ्नुहोस्

देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

प्रकाशित: २१ कार्तिक २०८३ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App