२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

देउवाको काँधमा ठूलो जिम्मेवारी छ, अब पार्टी मिलाइदिनुस् : गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।

शुक्रबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले पार्टी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले पूर्वसभापति देउवालाई पार्टी एकताको पहल गर्न आग्रह गर्दै भने, “तपाईंको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ। पार्टी मिलाइदिनुस्।”

गच्छदारले कांग्रेसलाई एकताबद्ध बनाउन नेता डा. शशांक कोइराला र डा. शेखर कोइरालाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले दुवै नेतालाई पार्टीभित्रको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गरे।

“नेता पुत्र साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ,” गच्छदारले भने।

उनले कांग्रेस सभापति गगन थापालाई पनि पार्टीभित्रको विवाद समाधान गर्दै एकता कायम गर्ने दिशामा जिम्मेवार भएर अघि बढ्न आग्रह गरे।

“गगन थापाजीलाई भन्न चाहन्छु– यसरी हुँदैन। सानेपामा सभापतिको कुर्सीमा बसेर भावनात्मक कुरा पनि बुझ्नुपर्छ,” गच्छदारले भने।

गच्छदारले पार्टीभित्रको वर्तमान विवादले कांग्रेसलाई कमजोर बनाउने भन्दै सबै पक्षले आ–आफ्ना अडानभन्दा माथि उठेर पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने बताए। कांग्रेसको आगामी राजनीतिक यात्रा बलियो बनाउन नेतृत्व तहबाटै एकताको पहल आवश्यक रहेको उनको भनाइ थियो।

उनले पूर्वसभापति देउवा, कोइराला परिवारका नेताहरू र वर्तमान सभापति थापालगायत सबै नेतृत्व पंक्तिले संवाद र सहकार्यबाट पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए।

 

प्रकाशित: २९ श्रावण २०८३ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App