अराजक जमातको सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती अझै केही दिन अस्पतालमै बस्ने भएका छन्। चिकित्सकको सल्लाहबमोजिम अझै केही दिन अस्पतालमै आराम गर्नुपर्ने अवस्था देखिएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको छ। भित्री चोट अझै पूरा निको भइसकेको छैन भन्ने डाक्टरको जानकारी छ,’ स्वकीय सचिव देउवाले भने, ‘त्यसैले अझै केही दिन अस्पतालमै बस्नुहुन्छ।’
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते अराजक जमातले सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा घुसेर देउवा र देउवा पत्नी तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवामाथि सांघातिक हमला गरेका थिए। सार्वजनिक दृश्यहरूमा भीडमा रहेका केही अराजक व्यक्तिले ज्यान मार्ने किसिमले नै प्रस्तुत भएको देखिन्छ। केही व्यक्तिले हात हातमा खुकुरीलगायतका घरेलु हतियार पनि बोकेको देखिन्छ।
भीडमै रहेका केही व्यक्तिले नै देउवा दम्पतीको ज्यान जोगाएको पनि दृश्यमा देखिन्छ। धेरै पछि मात्रै नेपाली सेनाले दुवै जनालाई जोगाउन प्रयास गरेका थिए। त्यस क्रममा झन्डै आठ घण्टा लामो यातना दुवै जनाले बेहोर्नुपरेको थियो। त्यही दिन साँझ मात्रै सेनाले सडक मार्गबाट देउवा दम्पतीलाई अस्पताल पु¥याएर उपचारका लागि राखेको थियो।
सभापति देउवाको गर्धनमा धारिलो हतियारको गहिरो चोट लागेको बताइएको छ। जहाँ १२ टाँका लागेका छन्। यस्तै आरजुलाई झन् निकै गम्भीर चोट रहेको परिवार स्रोत बताउँछ।
यस्तै देउवा निवासमा पनि आगजनी गर्दै घरलाई पूर्ण रूपमा क्षति पु¥याइएको छ। क्षति पुगेको घरमा तत्काल बस्न मिल्न सक्ने अवस्था छैन। यही कारण डिस्चार्ज भइसकेपछि बस्ने ठेगानाका विषयमा पनि खोजी भइरहेको स्वकीय सचिव देउवाले पुष्टि गरे।
उनका अनुसार अहिले डेराका लागि चार पाँच ठाउँमा हेरिएको छ। ‘तर, अझै टुंगो लागिसकेको छैन,’ उनले भने। आरजुका भाइ भूषण राणाको घरमै बस्ने भन्ने कुरा टुंगो लागि नसकेको पनि उनले बताए। उनले भने,‘बाहिर भनिएजस्तो त्यो कुरा सत्य होइन, बाहिर नै खोजी भइरहेको छ।’
प्रकाशित: ८ आश्विन २०८२ १८:२१ बुधबार





