नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र यथार्थ र सत्यलाई आत्मसात् गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘रियलाइजेसन’ भन्नाले आत्मआलोचना मात्रै नभई ज्ञान, विवेक, उद्देश्य, कर्तव्य, काम र अनुशासनका विषयमा आफूलाई बुझ्ने र सुधार गर्ने क्षमता भएको बताए।
‘हामीमा रियलाइजेसन भयो भने हामी यथार्थ र सत्यलाई आत्मसात् गर्न सक्छौँ। हामी जे हौँ, त्यसलाई बुझ्ने र अब के गर्नुपर्छ भन्ने महसुस गर्ने सामर्थ्य विकास हुन्छ,’ ओलीले भने।
पार्टीले संकल्पका साथ अघि बढे धक्का लागेको वा पछारिएको अवस्थाबाट पुनः उठ्न सक्ने बताए। धक्का खानु र लड्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले त्यसबाट उठेर अझ अगाडि बढ्नुपर्ने बताए।
‘हामी अलिकति धक्का खाएका हौँ। धक्का स्वाभाविक कुरा हो। फेरि उठ्छौँ र त्योभन्दा अगाडि बढ्छौँ,’ उनले भने।
अध्यक्ष ओलीले विगतमा एमाले दुईतिहाइको अवस्थामा पुगेको बताउँदै त्यही अवस्थामा फर्किनु मात्रै पार्टीको गन्तव्य नभएको बताए।
‘लगभग दुईतिहाइको स्थिति जहाँ पुगेका थियौँ, त्यहाँ पुग्नु मात्रै हाम्रो गन्तव्य होइन। त्यहाँ पुगेर त्यस स्थितिलाई सदुपयोग गर्दै अगाडि बढ्नु हो,’ ओलीले भने।
केन्द्रीय सदस्यहरूले पार्टीको नेतृत्व गर्दै आफूलाई आदर्श व्यक्तिका रूपमा स्थापित गर्नुपर्ने र गलत आनीबानी, व्यवहार र आचरणमा सुधार गर्न सुझाव दिए।
‘गलत आनीबानी नलिनुस्, गलत व्यवहार कसैसँग नगर्नुस्, गलत आचरण लिँदै नलिनुस्। नेकपा एमालेको आचरण पवित्र हुनुपर्दछ, शुद्ध हुनुपर्दछ। बानी राम्रो र नमुना योग्य हुनुपर्दछ,’ ओलीले भने।
प्रकाशित: १६ आश्विन २०८३ १६:२८ शुक्रबार





